संयुक्त राज्य अमेरिकाको पूर्वोत्तर भागमा लामखुट्टेमा ईईई भाइरस भेटिएको पुष्टि भएपछि त्यहाँका केही स्थानमा उच्च सतर्कता कायम गरिएको छ। उक्त भाइरस दुर्लभ भए पनि प्राणघातक मानिन्छ।
ईईई ‘ईस्टर्न एक्वाइन एन्सेफलाइटिस’ को सङ्क्षिप्त रूप हो। यसलाई ‘ट्रिपल ई’ पनि भनिन्छ।
म्यासचूसिट्स राज्यका केही स्थानहरू उक्त रोगको उच्च वा गम्भीर जोखिम देखा परेको घोषणा गरिएको छ। ईईई भाइरस सङ्क्रमित लामखुट्टेले टोक्दा सर्छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यूह्याम्शर राज्यमा एक अधबैँसे व्यक्तिको ईईईका कारण मृत्यु भएको छ। म्यासचूसिट्स राज्यमा ८० वर्षमाथिका एक वृद्धलाई पनि ईईई सङ्क्रमण भएको बताइएको छ।
अमेरिकामा यो रोगलाई दुर्लभ मानिन्छ। प्रत्येक वर्ष यो कुल ११ जनामा मात्र देखिने गरेको ‘सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन’ (सीडीसी)ले जनाएको छ।
म्यासचूसिट्समा सन् २०१९ र २०२० मा कुल १७ जनामा ईईई पुष्टि भएको थियो। तीमध्ये सात जनाको मृत्यु भयो।
अमेरिकाको पूर्वी तटीय भेगमा क्यानडादेखि गल्फ अफ मेक्सिको र क्यारिबीअन तथा दक्षिणमा आर्जेन्टिनासम्मै ठाउँठाउँमा ईईईको सङ्क्रण फैलिएको पाइएको छ।
तस्बिर स्रोत,Getty Images
ईईई भाइरस लामखुट्टेले प्रायः चराचुरुङ्गी, घोडा र मानिसमा सारिदिन्छ। यद्यपि सङ्क्रमण भएका अधिकांश मानिसमा कुनै लक्षण देखिँदैन।
यो निकै दुर्लभ हुन्छ। तर यसबाट गम्भीर समस्याहरू उत्पन्न हुन सक्छन्।
ईईईको सङ्क्रमण हुँदा ज्वरो आउन सक्छ अनि मस्तिष्कमा खतरनाक सुजन हुन सक्छ।
सीडीसीका अनुसार बिरामी पर्ने एकतिहाइ सङ्क्रमित व्यक्तिको मृत्यु हुन सक्छ।
यो भाइरस मानिसबाट मानिसमा भने सर्दैन।
तस्बिर स्रोत,Getty Images
सीडीसीका अनुसार ईईईबाट मानिसमा सङ्क्रमण हुँदा चारदेखि १० दिनभित्र लक्षणहरू देखा पर्न सक्छन्।
बिरामीमा ज्वरो आउने, काम छुट्ने, जीउ र जोर्नी दुख्ने जस्ता लक्षणहरू देखिन सक्छन्। बिरामीलाई एकदेखि दुई साता समस्या हुन सक्छ। केन्द्रीय मस्तिष्क प्रणालीमा असर नपुगेका अधिकांश बिरामीहरू पूरै निको हुन्छन्।
तर केही बिरामीमा ‘मेनिन्जाइटिस’ (मस्तिष्क तथा मेरुदण्डभित्र हुने ‘स्पाइनल कर्ड’ अर्थात् सुषुम्नालाई ढाक्ने झिल्लीको सुजन) वा ‘एन्सेफलाइटिस’ (मस्तिष्कको सुजन) हुन सक्छ।
दीर्घकालमा बिरामीको बौद्धिक क्षमतामा ह्रास आउने, विभिन्न किसिमका मानसिक समस्या आउने, मूर्च्छा पर्ने, पक्षाघात हुने र गर्धनमा समस्या आउने पनि हुन सक्छ।
तस्बिर स्रोत,Getty Images
ईईईविरुद्ध खोप बनेको छैन। यसको उपचार गर्ने औषधि पनि छैन।
बिरामीलाई अस्पतालमा रक्तनलीबाट तरल पदार्थ दिइन्छ अनि सास फेर्न सजिलो बनाइन्छ।
म्यासचूसिट्समा उच्च वा गम्भीर जोखिम परेको ठानिएका बस्तीरूमा अहिले लामखुट्टेको टोकाइबाट जोगिन भनिएको छ। त्यसका लागि:
म्यासचूसिट्समा जोखिममा परेका क्षेत्रहरूमा लामखुट्टे नियन्त्रण गर्न कीटनाशक विषादी छर्कन थालिएको छ। त्यसका लागि साना विमान र लरीहरू प्रयोग गरिँदै छ।
तस्बिर स्रोत,Getty Images
ईईई भाइरस दक्षिण अमेरिका र उत्तर अमेरिका महादेशमा समुद्रसँग जोडिएका भूभागमा देखिएको छ।
यो भाइरस पहिलो पटक सन् १९३३ मा डेलवेर, म्यारिल्यान्ड र भर्जिनिया राज्यमा घोडामा फेला परेको थियो।
यो भाइरस दलदल र सिमसार भएका क्षेत्रमा हुने लामखुट्टेले सार्ने अनि मानिसहरू प्रायः त्यस्ता ठाउँमा नजाने भएकाले मानिसमा हत्तपत्त सङ्क्रमण हुँदैन। बरु लामा खुट्टा हुने चराहरूमा सङ्क्रमण सर्न सक्छ। धेरै प्रजातिका चराचुरुङ्गीले रोग सार्छन् तर आफू प्रभावित हुँदैनन्।
यो वर्ष संयुक्त राज्य अमेरिकामा पाँच जनामा ईईई सरेको पुष्टि भइसकेको छ।
यसअघि प्यानमा, ट्रिनिड्याड र ब्रजिलमा पनि ईईईबाट बिरामी परेका मानिसहरू फेला परेका थिए।
तस्बिर स्रोत,Getty Images
वायुमा आर्द्रता कम्तीमा ४२ प्रतिशत भएको अवस्थामा लामखुट्टे १० देखि ३२ डिग्री सेल्सिअसमा सक्रिय हुन्छ।
अनुसन्धानमूलक समूह ‘क्लाइमेट सेन्ट्रल’ का अनुसार अहिले संयुक्त राज्य अमेरिकाको तीनचौथाइ भागमा ताता र ओसिला दिनहरूको सङ्ख्या सन् १९७९ को तुलनामा प्रतिवर्ष औसतमा १६ दिन बढेको छ।
विज्ञहरू वर्षभरि लामखुट्टे सक्रिय हुने समयावधि बढ्नु भनेको तिनले ईईईजस्ता खतरनाक रोग सार्ने जोखिम पनि बढ्नु हो भन्ठान्छन्।
– बीबीसी नेपाली सेवाबाट