धनगढी, वैशाख १४ गते । सुदूरपश्चिमका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाको ३० सदस्यीय टोली दार्चुलास्थित अपी हिमाल बेस क्याम्पतर्फ पदयात्रामा निस्किएको छ।

सुन्दर सुदूरपश्चिमका अभियन्ता तथा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको नेतृत्वमा ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ भन्ने नारासहित टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो। टोलीमा उपप्रमुख कन्दकलाकुमारी राना सहित जनप्रतिनिधि तथा सरोकारवाला सहभागी रहेका छन्।
धनगढीबाट बाजागाजासहित भव्य रूपमा बिदाइ गरिएको उक्त टोलीले १० दिनसम्मको कार्यतालिका अनुसार अपी हिमालको आधार शिविरसम्म पदयात्रा गर्ने जनाइएको छ।
नगर प्रमुख हमालका अनुसार यस अभियानले सुदूरपश्चिम प्रदेशमा ओझेलमा परेका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई उजागर गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गरिएको छ।
यस पदयात्रालाई सुदूरपश्चिमको पर्यटन विकास र पहिचान विस्तार गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
