सुदूरपश्चिममा ५६ किमि सडक निर्माण, ८७ प्रतिशत घरधुरीमा विद्युत् पहुँच

0 Shares

धनगढी, असार ५ गते ।  सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म प्रदेशभर ५६ किलोमिटर सडक निर्माण गरेको जनाएको छ। प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार निर्माण गरिएका सडकमध्ये ११ किलोमिटर कालोपत्रे, २६ किलोमिटर ग्राभेल तथा १९ किलोमिटर माटो सडक रहेका छन्।

आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीका अनुसार सो अवधिमा प्रदेशमा दुई वटा पुल निर्माण गरिनुका साथै ३६ किलोमिटर तटबन्ध निर्माण गरिएको छ। पूर्वाधार विकासलाई प्राथमिकता दिँदै प्रदेश सरकारले सडक, पुल तथा नदी नियन्त्रणका क्षेत्रमा लगानी बढाएको जनाएको छ।

सिँचाइतर्फ प्रदेश सरकारले सतह सिँचाइ योजनामार्फत तीन हजार ३८३ हेक्टर, भूमिगत सिँचाइबाट ११० हेक्टर तथा नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजनाबाट २४० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरेको छ। साथै चैत मसान्तसम्म १५७ किलोमिटर पक्की कुलो र सात किलोमिटर कच्ची कुलो निर्माण गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

खानेपानी क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको दाबी गरिएको छ। प्रदेश सरकारका अनुसार खानेपानी सेवाको विस्तारबाट २८ हजार ३७ जना नागरिक लाभान्वित भएका छन्। यस्तै प्रदेशका ८७.३ प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुगेको सर्वेक्षणले देखाएको छ।

यसैबीच सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले डेढ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा प्रदेशभर बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ भने एक खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरिएको छ।

हाल प्रदेशभर बैंक तथा वित्तीय संस्थाका ८४३ शाखा सञ्चालनमा रहेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा शाखा संख्या ८४९ रहेको थियो।

उद्योग क्षेत्र पनि विस्तार हुने क्रममा रहेको सर्वेक्षणले देखाएको छ। प्रदेशमा उद्योगको संख्या बढेर एक हजार ५९९ पुगेको छ। प्रदेश सरकारले पूर्वाधार, ऊर्जा, सिँचाइ तथा वित्तीय पहुँच विस्तारसँगै आर्थिक गतिविधि बढ्दै गएको दाबी गरेको छ।

सम्बन्धित समाचार

सबै