नयाँदिल्ली, भारत – कात्तिक २५ गते। भारतको राजधानी नयाँदिल्लीको व्यस्त क्षेत्र लालकिल्लास्थित मेट्रो स्टेशननजिक सोमबार साँझ भएको कार विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । विस्फोट भएको हुन्डाईको आई–२० कार हरियाणा राज्यको नम्बरप्लेट भएको बताइएको छ ।
दिल्ली प्रहरीका अनुसार विस्फोट लालकिल्ला चोकको ट्राफिक बत्तीमा रोकिएको बेला भएको हो । कारमा अन्य यात्रु पनि सवार रहेका थिए । विस्फोटका कारण आसपासका अन्य सवारीसाधनमा समेत क्षति पुगेको छ । घटनास्थलमा रहेका बारुण यन्त्रले आगो नियन्त्रणमा लिएका थिए ।
घटनापछि दिल्ली क्राइम ब्रान्च, स्पेसल ब्रान्च, फोरेन्सिक साइन्स ल्याब (एफएसएल) र नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए) लगायतका निकायहरूले संयुक्त रूपमा अनुसन्धान थालेका छन् । दिल्लीका प्रहरी आयुक्त सतिश गोल्छाले घटनाबारे भारतीय गृहमन्त्री अमित शाहलाई ब्रिफिङ गरेका छन् ।
तर, भारतीय सरकारले यो आतंककारी हमला हो वा होइन भन्नेबारे आधिकारिक पुष्टि गरेको छैन । गृहमन्त्री शाहले समाचार एजेन्सी एएनआई सँग भनेका छन्, “हामी घटनाको सबै कोणबाट अनुसन्धान गर्दैछौँ । अहिले नै निष्कर्ष निकाल्न हतार हुनेछ । विस्फोटस्थलबाट संकलित नमुनाहरूको विश्लेषणपछि मात्रै यकिन कारण थाहा हुनेछ ।”
दिल्ली र गुरुग्राम प्रहरीले उक्त कारका पूर्वधनी मोहम्मद सलमानलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । सलमानका अनुसार उनले कार ओखलामा बस्ने देवेन्द्र नामक व्यक्तिलाई बेचेका थिए, जसले पुनः अम्बालामा अर्को व्यक्तिलाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले ती सबै व्यक्तिको खोजी गरिरहेको छ ।
विस्फोटमा घाइते २४ जनामध्ये धेरैजना लोकनायक अस्पतालमा उपचाररत छन् । गृहमन्त्री अमित शाह र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता सोमबार राति अस्पताल पुगेका थिए । शाह र गुप्ताले घाइतेहरूको अवस्था बुझ्दै सबैको निःशुल्क उपचार सुनिश्चित गर्न निर्देशन दिएका छन् ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंहलगायत केन्द्र र राज्यका शीर्ष नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् । दिल्लीका विभिन्न क्षेत्र र लालकिल्ला वरपर सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ ।
घटनापछि नयाँदिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । साथै, नेपालसँग सीमा जोडिएका उत्तराखण्ड, उत्तरप्रदेश, बिहार र पश्चिम बंगालसहितका राज्यहरूमा पनि उच्च सतर्कता अपनाइएको हिन्दुस्तान टाइम्स ले जनाएको छ । सीमा नाकाहरूमा निगरानी बढाइएको र सवारी चेकजाँच कडा पारिएको बताइएको छ ।
अमेरिका, फ्रान्सलगायतका देशका दिल्लीस्थित दूतावासहरूले पनि घटनाप्रति प्रतिक्रिया जनाउँदै नजिकबाट नियालिरहेको बताएका छन् । ती दूतावासहरूले आफ्ना नागरिकलाई सतर्क रहन र भीडभाड क्षेत्र टार्न आग्रह गरेका छन् ।
नयाँदिल्लीस्थित नेपाली राजदूतावासले घटनाबारे नजिकबाट निगरानी गरिरहेको जनाएको छ । नियोग उपप्रमुख डा. सुरेन्द्र थापाका अनुसार घटनामा नेपाली नागरिक संलग्न वा प्रभावित भएको अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।
‘यो दुःखद घटना हो । हामी सम्बन्धित भारतीय अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौँ । हालसम्म नेपाली नागरिकहरू सबै सुरक्षित छन्,’ डा. थापाले भने ।
नयाँदिल्लीमा हजारौँ नेपाली श्रमिक, विद्यार्थी र व्यापारी बसोबास गर्दै आएका छन् । घटनापछि दूतावासले नेपाली समुदायलाई सावधानी अपनाउन र आपतकालीन अवस्थाको लागि सम्पर्क नम्बर उपलब्ध गराएको जनाएको छ ।