ट्रम्प–सी शिखर वार्ता : व्यापार, प्रविधि र युद्ध तनावबीच विश्वको ध्यान बेइजिङतर्फ
0
Shares
काठमाडौँ, वैशाख ३१ गते । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनका शीर्ष नेताबीच आज बेइजिङमा बहुप्रतीक्षित शिखर वार्ता हुँदै छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच हुने वार्तालाई विश्व समुदायले अर्थतन्त्र, प्रविधि र भूराजनीतिक सन्तुलनका दृष्टिले अत्यन्त महत्त्वका साथ हेरिरहेको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति ट्रम्प नौ वर्षपछि तीनदिने राजकीय भ्रमणका लागि बुधबार साँझ चीनको राजधानी बेइजिङ पुग्नुभएको हो । भ्रमणका क्रममा दुई देशबीचको व्यापार सम्बन्ध, प्रविधि प्रतिस्पर्धा, कृत्रिम बौद्धिकता, दुर्लभ खनिज निर्यात तथा सुरक्षा रणनीतिका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ ।
चीन प्रस्थानअघि ट्रम्पले सामाजिक सञ्जालमार्फत चीनलाई अमेरिकी कम्पनी र प्रविधिका लागि अझ खुला बनाउनुपर्ने धारणा सार्वजनिक गर्नुभएको थियो । उहाँले राष्ट्रपति सीलाई “असाधारण दृष्टिका नेता” को संज्ञा दिँदै अमेरिकी प्रतिभा र प्रविधिलाई चीनमा थप पहुँच दिन आग्रह गर्नुभएको हो ।
ट्रम्प प्रशासनले यस भ्रमणलाई सामान्य कूटनीतिक भेटका रूपमा नभई अमेरिका–चीन सम्बन्धलाई नयाँ ढङ्गले पुनः सन्तुलन गर्ने अवसरका रूपमा प्रस्तुत गरेको छ । यही कारण प्रविधि तथा व्यापार क्षेत्रका केही प्रभावशाली अमेरिकी व्यवसायी पनि ट्रम्पको भ्रमण टोलीमा सहभागी भएका छन् ।
उता बेइजिङले वासिङ्टनसँगको सम्बन्ध सुधारसँगै पश्चिम एसियामा बढ्दो तनाव कम गर्न पनि चासो देखाएको छ । चीनले अमेरिका र इरानबीचको युद्ध अन्त्य गरी संवादमार्फत समाधान खोज्नुपर्ने पक्षमा जोड दिएको छ । चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानलाई समेत इरान–अमेरिका संवाद प्रक्रियामा मध्यस्थताको भूमिका बढाउन आग्रह गरेको जनाइएको छ ।
कार्यक्रमअनुसार राष्ट्रपति ट्रम्पको सम्मानमा बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा राजकीय भोज, चियापान तथा उच्चस्तरीय स्वागत समारोह आयोजना गरिनेछ । सन् २०१७ पछि ट्रम्पको यो पहिलो चीन भ्रमण हो ।
यसअघि गत अक्टोबरमा दक्षिण कोरियामा भएको भेटपछि दुई देशबीच व्यापार युद्धविराम कायम रहँदै आएको छ । अब उक्त समझदारीलाई थप एक वर्ष लम्ब्याउने विषयमा पनि वार्ता हुने तयारी गरिएको छ ।
इरान युद्धको खर्च १० खर्ब डलरसम्म पुग्ने चेतावनी
यसैबीच इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानको आर्थिक भार तीव्र रूपमा बढ्दै गएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हालसम्म करिब २९ अर्ब अमेरिकी डलर खर्च भइसकेको स्वीकार गरेको छ । तर, विज्ञहरूले वास्तविक लागत अझ धेरै माथि पुगिसकेको दाबी गरेका छन् ।
दीर्घकालीन सैनिक परिचालन, पूर्वसैनिकको स्वास्थ्य सेवा, सैन्य संरचनाको पुनर्निर्माण तथा नयाँ हतियार उत्पादनको खर्च जोड्दा युद्धको कुल लागत अन्ततः १० खर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
हार्वर्ड केनेडी स्कुलले सार्वजनिक गरेको अनुसन्धानअनुसार युद्धको आर्थिक प्रभाव आगामी वर्षहरूमा अझ गम्भीर बन्न सक्छ । युद्ध बजेट विशेषज्ञ लिन्डा बिल्मेसले अहिले सार्वजनिक गरिएका आँकडा वास्तविक खर्चको सानो अंश मात्र भएको उल्लेख गर्दै दीर्घकालमा अमेरिकाले ठूलो आर्थिक दबाब सामना गर्नुपर्ने चेतावनी दिनु भएकाे छ ।