जापानी संस्था निदोन हिदान्क्योलाई नोबेल शान्ति पुरस्कार

0 Shares

असाेज , २५ । यस वर्षको  नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिदान्क्योलाई दिइने भएको छ । हिरोसिमा र नागासाकी विस्फोटमा परी बाँचेका व्यक्तिहरूले  चलाएको संस्था  निहोन हिदान्क्योलाई शुक्रबार रोयल स्विडिस एकेडेमीले लाई सन् २०२४ को  नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।

 

उनीहरूले विश्वलाई आणविक हतियारमुक्त बनाउने अभियान चलाइरहेका छन् । उक्त संस्था सन् १९५६ मा स्थापना भएको हो । पारमाणविक हतियारले कस्तो असर पुर्‍याउँछ भन्ने कुराको आफूहरू नै साक्षी रहेको बताउँदै उक्त संस्थाले आणविक हतियार कहिल्यै प्रयोग गर्न नहुने कुराको वकालत गर्दै आएको छ ।

झन्डै ८० वर्षअघि दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बमले ध्वंस मच्चाएको थियो । ६ अगस्ट १९४५मा जापानी समय अनुसार बिहानको आठ बजे हिरोसिमामा अमेरिकाले परमाणु बम खसालेको थियो । ८० हजारभन्दा बढी मानिसले तत्कालै ज्यान गुमाए । त्यसको तीन दिनपछि ९ अगस्टमा नागासाकीमा अर्को बम खसालियो । नागासाकीको त्यो विपत्मा ४० हजार जनसङ्ख्याको तत्कालै मृत्यु भएको थियो । मानव इतिहासकै सबैभन्दा भयंकर, नयाँ तथा क्रूर घटनाका कारण जापानी सम्राट् हिरोहितोले १५ अगस्टमा रेडियो सन्देशमार्फत आत्मसमर्पण गरेको घोषणा गरेका थिए । तापको राप र रेडियो विकिरणका कारण कालान्तरमा हिरोसिमामा १ लाख ५० हजार र नागासाकीमा ७५ हजार जनाको मृत्यु भएको थियो ।

नोबेल विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् ।

गत वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिएको थियो । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानवअधिकार प्रवर्द्धनमा लागेको भन्दै रोयल स्विडिस एकेडेमीले उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

पहिलो पटक नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक प्यासीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार विजेता घोषणा भइसकेको छ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने अक्टोबर १४ मा घोषणा हुनेछ ।

सम्बन्धित समाचार

सबै