भदाै , १५ । मोरङको सुन्दरहरैँचामा शनिबार दिउँसो एकै घरका २ नाबालिकाको शव भेटिएको छ। सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र दिउँसो ४:३० बजेतिर नाबालिकाहरु मृत फेला परेका हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की मृत फेला परेको जानकारी दिए।
पतिसँग विवाद भएपछि नाबालिका छोरीहरुलाई लिएर राति ८:३० बजेतिर अस्मिता हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी बस्नेतले बताए। दुवै नाबालिकाको शव अँगालो मारेको अवस्थामा भोलिपल्ट फेला परेको छ। दिदी आयिकाले बाहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको हो। सम्पर्कविहीन रहेकी आमा अस्मिताको खोजी तीव्र पारिएको डीएसपी बस्नेतले दिए। घटनाको प्रकृति हेर्दा दुवै बालिकालाई विष खुवाएर मारेजस्तो देखिने उनले बताए।
बालिकाका बुवा अर्जुन प्रहरीको सम्पर्कमै छन्। प्रहरीका अनुसार निर्माणाधीन घरमा पानी लगाउने विषयलाई लिएर पति–पत्नीबीच विवाद भएको पाइएको छ। ‘आफूसँग विवाद भएपछि २ नाबालिका छोरी लिएर पत्नी हिँडेको भनेर अर्जुनले भनेका छन्। नाबालिकाहरु अहिले मृत फेला परेका हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘यसअघि पनि पतिसँग विवाद हुँदा अस्मिताले नानीहरु लिएर हिँड्ने र पुन: फर्किएर आउने गरेको पाइयो। वास्तविकता पत्ता लगाउन घटनाको अनुसन्धान सुरु गरिएको छ।’
घटनाको जानकारी पाउनसाथ थप अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेका छन्। कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी प्रहरीले गरेको छ।