डिजिटल ठगीबाट बच्न के गर्ने, नक्कली फोन र म्यासेजबाट सावधान!

0 Shares

काठमाडौं असाेज २३ गते । ‘सर, म नबिल बैंकबाट बोलेको। तपाईंको केवाइसी अपडेट गर्नुपर्ने रहेछ।’ बैंकको कर्मचारी भएको भन्दै यस्तै फोन आए सावधान हुनुहोस् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको नाम र लोगो प्रयोग गरेर ग्राहकलाई झुक्याउने तथा बैंक खाताबाट रकम चोरी गर्ने प्रयास बढ्दै गएको छ ।

शुक्रबार बिहान करिब ११ बजे नबिल बैंकका एक ग्राहकलाई यस्तै फोन आयो । फोन गर्ने व्यक्तिले ह्वाट्सएपबाटै ग्राहक पहिचान विवरण (केवाइसी) अपडेट गर्न सकिने बताए । त्यसको केही बेरपछि नबिल बैंकको लोगो राखिएको नम्बरबाट ह्वाट्सएपमा फोन आयो ।

फोन गर्ने व्यक्तिले आफूले भनेअनुसार मोबाइलमा विभिन्न बटन थिच्न आग्रह गरे । तर, ‘सेयर’ र ‘स्विच’ बटन थिच्न भनिएपछि ग्राहकलाई शंका लाग्यो । उनले बैंकमै उपस्थित भएर केवाइसी अपडेट गर्ने भन्दै फोन काटिदिए ।

त्यसपछि उनले नबिल बैंकको आधिकारिक सम्पर्क नम्बरमा फोन गरेर अनलाइनबाट केवाइसी अपडेट गर्ने व्यवस्था छ कि छैन भनेर बुझे । बैंकले फोन वा ह्वाट्सएपमार्फत केवाइसी अपडेट गर्ने काम नभएको स्पष्ट पारेपछि आफू ठगीको सम्भावित जोखिमबाट जोगिएको उनले थाहा पाए ।

यो घटनाले बैंकको नाम र लोगो प्रयोग गरेर ग्राहकलाई विश्वासमा लिने ठगीको जोखिम देखाएको छ । बैंक कर्मचारी भएको दाबी गर्ने व्यक्तिले भनेका सबै कुरा विश्वास गर्दा ग्राहकको मोबाइल तथा बैंक खातामा अनधिकृत पहुँच पुग्न सक्छ ।

तीन अर्बभन्दा बढी रकमसँग सम्बन्धित ठगीको अनुसन्धान

नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका अनुसार बैंकिङ ठगीसँग सम्बन्धित तीन अर्ब रुपैयाँभन्दा बढी रकमबारे अनुसन्धान भइरहेको छ ।

उनका अनुसार ठगीमा संलग्न व्यक्तिहरूले छोटो समयमै विभिन्न बैंक खातामा रकम स्थानान्तरण गर्न सक्ने अवस्था देखिएको छ ।

‘हिजो मात्रै गृह मन्त्रालयमा भएको बैठकमा हामीले यसबारे जानकारी पायौँ । ठगीमा संलग्नहरूले ६० सेकेन्डमै तीनवटासम्म बैंकमा पैसा सार्न सकिरहेका रहेछन्, त्यो पनि बंगलादेशको कुनै ठाउँमा बसेर,’ कोइरालाले भने ।

यस्ता घटना बढेपछि गृह मन्त्रालयको समन्वयमा ठगी नियन्त्रणका लागि सम्बन्धित निकाय तथा सरोकारवालाको सहभागितामा समूहसमेत गठन गरिएको उनले जानकारी दिए ।

ओटिपी र मोबाइलको पहुँच मागेर ठगी

बैंकको नाममा फोन गर्ने व्यक्तिले केवाइसी अपडेट, खाता सक्रिय बनाउने वा बैंकिङ सेवा निरन्तर राख्ने बहाना बनाउन सक्छन् । त्यसपछि मोबाइलमा कुनै बटन थिच्न लगाउने, स्क्रिन सेयर गर्न आग्रह गर्ने वा ओटिपी माग्ने जोखिम हुन्छ ।

नबिल बैंकका सहप्रवक्ता कृष्ण सुवेदीका अनुसार पछिल्लो समय ठगीमा संलग्न व्यक्तिहरूले ग्राहकलाई प्रत्यक्ष सम्पर्कमा आउन लगाएर ओटिपी माग्ने गरेका छन् ।

‘अहिले स्क्यामरहरूले यसरी लाइभमा आउन भनेर ओटिपी नम्बर माग्ने र ग्राहकलाई ठग्ने घटना बढेको छ । ग्राहकले बुझ्नुपर्छ, यसरी ओटिपी नम्बर माग्ने काम बैंकले गर्दैन,’ उनले भने ।

ओटिपी एकपटक प्रयोग गर्न मिल्ने अस्थायी सुरक्षा संकेत हो । यसलाई अरूलाई दिँदा बैंक खातामा अनधिकृत पहुँच पुग्न वा डिजिटल कारोबारको दुरुपयोग हुन सक्छ । त्यसैले ओटिपी, पासवर्ड, पिन तथा अन्य गोप्य विवरण कसैलाई पनि दिनु हुँदैन ।

मोबाइलमा स्क्रिन सेयर गर्ने वा अपरिचित व्यक्तिको निर्देशनमा बटन थिच्ने कामले पनि जोखिम निम्त्याउन सक्छ । विशेषगरी मोबाइलको नियन्त्रण अरूलाई दिन सक्ने एप वा सुविधा सक्रिय गर्न लगाइएमा थप सतर्क हुनुपर्छ ।

कसरी जोगिने ठगीबाट ?

बैंकको नाम, लोगो वा कर्मचारीको परिचय प्रयोग गर्दैमा फोन गर्ने व्यक्ति आधिकारिक प्रतिनिधि हो भन्ने निश्चित हुँदैन । त्यसैले शंकास्पद फोन आएमा कुराकानी रोकेर बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध सम्पर्क नम्बरबाट पुष्टि गर्नुपर्छ ।

केवाइसी अपडेट गर्नुपर्ने भन्दै अपरिचित व्यक्तिले पठाएको लिंक खोल्ने, मोबाइलमा स्क्रिन सेयर गर्ने, कुनै एप डाउनलोड गर्ने वा गोप्य संकेत उपलब्ध गराउने काम गर्नु हुँदैन । फोन गर्ने व्यक्तिले दिएको नम्बर वा लिंकभन्दा बैंकको आधिकारिक माध्यम प्रयोग गर्नु सुरक्षित हुन्छ ।

नबिल बैंकका सहप्रवक्ता सुवेदीले पनि शंकास्पद फोन वा सन्देशमा विश्वास नगर्न र आवश्यक परे बैंकको आधिकारिक ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर बुझ्न आग्रह गरेका छन् ।

यदि शंकास्पद निर्देशन पालना गरिसकिएको छ वा खाताबाट रकम हराएको आशंका छ भने तत्काल बैंकमा सम्पर्क गरी डिजिटल कारोबार रोक्ने वा खाता सुरक्षित गर्ने प्रक्रिया अघि बढाउनुपर्छ । आवश्यक परे प्रहरीको साइबर ब्युरो वा सम्बन्धित प्रहरी निकायमा उजुरी दिनुपर्छ ।

बैंकको नाममा आएको फोनलाई विश्वास गर्नुअघि पुष्टि गर्नुहोस् । ओटिपी, पासवर्ड र मोबाइलको पहुँच अरूलाई नदिनुहोस्सा मान्य सावधानीले ठूलो आर्थिक क्षति हुनबाट जोगाउन सक्छ ।

सम्बन्धित समाचार

सबै