0
Shares
कञ्चनपुर १४ असोज। महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग भत्काएको छ।
आज बिहान करिब ८ बजे आएको बाढीले पुलको नदीबीचमा रहेको पिलर भत्काएपछि पुलको ठूलो भाग नदीमा बगेको हो।
प्रत्यक्षदर्शीका अनुसार महाकाली नदीको बीच भागमा रहेको पिलर भत्किएपछि पुलको संरचना नदीमा खसेको थियो।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बरको तथा दोधारा चाँदनीतर्फबाट तेस्रो नम्बरको पिलर भत्किएको छ।
पिलर भत्किएपछि पुलमा आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ। बाढीको बहाव बढिरहेका कारण पुलको थप भागमा समेत क्षति पुग्न सक्ने अवस्था रहेको स्थानीयले बताएका छन्।
सम्बन्धित निकायले घटनास्थलको निरीक्षण तथा क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरेको जनाएको छ।