सुर्खेत, असोज १३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सरकारको कामलाई परिणाममुखी, जिम्मेवार र जवाफदेही बनाउन मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले मन्त्रीहरूसँग सम्झौता गर्दै विकास बजेटको समयमै कार्यान्वयन गर्न, योजना प्रभावकारी रूपमा अघि बढाउन र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह सुधार गर्न निर्देशन दिए।
सम्झौतापछि उनले कार्यसम्पादन सम्झौता केवल औपचारिकतामा सीमित हुन नहुने उल्लेख गर्दै यसले सरकारको कामको गति बढाउने र नागरिकप्रति सरकारको उत्तरदायित्व थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री शाहीले मन्त्रीहरूले आ–आफ्ना मन्त्रालयका सचिवसँग पनि कार्यसम्पादन सम्झौता गर्नुपर्ने तथा सचिवहरूले मातहतका कार्यालयको काम, योजना र बजेट कार्यान्वयनको नियमित अनुगमन गर्नुपर्ने बताए। उनले तोकिएको समयभित्र बजेट खर्च, योजना कार्यान्वयन र कार्यक्रमको प्रगतिको गम्भीर निगरानी गर्न निर्देशन दिँदै यसबाट प्रशासनिक अनुशासन र कार्यसम्पादन संस्कृतिको विकास हुने बताए।
योजना तथा कार्यक्रमको अनुगमन प्रणालीलाई प्रविधिमैत्री बनाइने जानकारी दिँदै मुख्यमन्त्री शाहीले विकास आयोजनाको प्रगति, बजेट कार्यान्वयन र सम्बन्धित निकायको कामलाई एउटै डिजिटल प्रणालीमार्फत नियमित रूपमा अनुगमन गर्ने व्यवस्था गरिने बताए।
कार्यसम्पादन सम्झौतामा सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कीत लामा कार्की तथा जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाल सहभागी थिए।
यसैगरी मुख्यमन्त्री शाहीले प्रमुख सचिव राधिका अर्यालसँग पनि कार्यसम्पादन सम्झौता गरेका छन्। प्रमुख सचिव अर्यालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरू रमेशकुमार केसी, लक्ष्मीकुमार बिक र निधिराज न्यौपानेसँग सम्झौता गरेकी छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईसँग पनि कार्यसम्पादन सम्झौता गरिनेछ भने सम्बन्धित मन्त्रालयका सचिवसँग मन्त्रीहरूले समेत छिट्टै कार्यसम्पादन सम्झौता गर्नेछन्।