सुर्खेत, असोज १३ गते। कर्णाली प्रदेशमा साउनयता प्राकृतिक विपद्का १७५ वटा घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। प्रदेश प्रहरीका अनुसार दुई जना अझै बेपत्ता छन्।
विपद्का कारण प्रदेशभर १५२ घरधुरी विस्थापित भएका छन् भने २१ वटा उद्योगमा समेत क्षति पुगेको छ। बाढी, पहिरो, आगलागी, अविरल वर्षा, चट्याङ र हावाहुरीका घटनाले जनधनसँगै आर्थिक गतिविधिमा पनि असर पुर्याएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरीको तथ्यांकअनुसार साउनयता सबैभन्दा धेरै ११८ वटा पहिरोका घटना भएका छन्। यस अवधिमा बाढीका ४२, आगलागीका १७, अविरल वर्षासम्बन्धी ५४ तथा चट्याङ र हावाहुरीका सात–सात वटा घटना दर्ता भएका छन्।
मानवीय क्षतितर्फ जाजरकोटमा सबैभन्दा बढी चार जनाको मृत्यु भएको छ। कालीकोट र मुगुमा दुई–दुई तथा सल्यान र रुकुम पश्चिममा एक–एक जनाको ज्यान गएको प्रदेश प्रहरीले जनाएको छ।
वर्षायाममा लगातारको वर्षापछि पहाडी जिल्लामा पहिरो जाने क्रम बढ्दा ग्रामीण बस्ती तथा सडक सञ्जाल प्रभावित भएका छन्। बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित हुनुका साथै कतिपय क्षेत्रमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत समस्या देखिएको छ।
प्राकृतिक विपद्ले उद्योग तथा व्यवसाय पनि प्रभावित भएका छन्। प्रदेश प्रहरीका अनुसार साउनयता भएका घटनाबाट २१ वटा उद्योगमा क्षति पुगेको छ, जसले स्थानीय उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा असर पारेको छ।
कर्णालीका अधिकांश बस्ती दुर्गम तथा पहाडी क्षेत्रमा रहेकाले विपद्का बेला उद्धार तथा राहत सामग्री पुर्याउन कठिनाइ हुने गरेको छ। यसले प्रभावित परिवारलाई थप समस्या भोग्नुपर्ने अवस्था सिर्जना गरेको प्रहरीको भनाइ छ।
प्रदेश प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म कर्णालीका १० जिल्लामा २५२ वटा विपद्का घटना दर्ता भएका छन्, जसमध्ये १७५ वटा साउनयता भएका हुन्।
प्रहरीले जोखिमयुक्त बस्तीको पहिचान, पूर्वसूचना प्रणालीको विस्तार, उद्धार सामग्रीको पर्याप्त व्यवस्थापन तथा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ। विपद्पछि उद्धार र राहतमा मात्र केन्द्रित नभई जोखिम न्यूनीकरण र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिइएको छ।