गुल्मीमा सयौँ सल्लाका रुख ढले, ३० घरपरिवार सुरक्षित स्थानमा सारि

0 Shares

चन्द्रकोट गाउँपालिका–३ भुल्केस्थित बार्जिङ सल्लेरी सामुदायिक वनमा सयौँ सल्लाका रुख एकाएक ढलेपछि आसपासका बस्ती जोखिममा परेका छन्। रुखसँगै ढुंगा खस्न थालेपछि भुल्के, ठूलटारी र आगाटारीका करिब ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

शनिबार दिउँसो २ बजेपछि सामुदायिक वन क्षेत्रमा ठूलो संख्यामा सल्लाका रुख ढल्न थालेका हुन्। निरन्तरको वर्षाका कारण जमिन कमजोर बनेपछि रुख ढलेको हुनसक्ने चन्द्रकोट गाउँपालिका–३ का वडाध्यक्ष डिल्लीराज सुवेदीले बताए।

उनका अनुसार शनिबार बिहानैदेखि छिटफुट रूपमा रुख ढलिरहेका थिए। दिउँसो २ बजेपछि भने ठूलो संख्यामा रुख ढलेका छन्। तीन सयभन्दा बढी सल्लाका रुख ढलेको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष सुवेदीले बताए।

रुख ढल्नुका साथै वन क्षेत्रबाट ढुंगा खस्न थालेपछि आसपासका बस्तीमा जोखिम बढेको हो। रातको समयमा थप जोखिम हुनसक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष सुवेदीले बताए। विस्थापित परिवारहरू आफन्तको घरमा आश्रय लिएर बसेका छन्।

वन क्षेत्रमा रुख ढल्ने र ढुंगा खस्ने क्रम नरोकिएपछि बस्तीमा थप सतर्कता अपनाइएको छ। जोखिम बागलुङतर्फका बस्तीमा समेत देखिएको छ। बागलुङको बरेङ गाउँपालिकातर्फका करिब ३० देखि ३५ घरपरिवार पनि जोखिममा परेको जनाइएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रकोटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार लगातारको वर्षाका कारण पहिरो जाने, रुख ढल्ने र ठूला ढुंगा खस्ने जोखिम बढेको छ।

‘पहिरो बस्तीसम्म आइपुग्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो,’ उनले भने।

यस क्षेत्रमा गत बुधबारदेखि हावाहुरीसहित निरन्तर वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण जमिन कमजोर बनेपछि सामुदायिक वन क्षेत्र र आसपासका बस्तीमा जोखिम थप बढेको स्थानीय प्रशासनले जनाएको छ।

 

सम्बन्धित समाचार

सबै