काठमाडौं, असोज ८ गते । अविरल वर्षाका कारण बिहान केही स्थानमा पहिरो खसेर एकतर्फी सञ्चालन भएको धादिङको कृष्णभिर सडकखण्ड अहिले दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । बिहान खसेको पहिरो हटाएपछि सवारी आवत-जावत सामान्य बने पनि थप वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज बेलुका ८: ०० बजेदेखि भोलि बिहान ५: ०० बजेसम्म सो सडक खण्डमा सवारी सञ्चालन बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार अहिले कृष्णभिरमा दुवैतर्फ सवारीसाधन सञ्चालन भइरहेको छ । सडकको अवस्था निगरानी गर्न तथा वर्षाका कारण आउन सक्ने सम्भावित अवरोध तत्काल व्यवस्थापन गर्न प्राविधिक टोली, होल्डिङ सेन्टर, जेसीबीलगायतका उपकरण तथा प्रहरी टोली तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार भारी वर्षाका कारण सडकमा पुनः पहिरो खस्न सक्ने तथा सडकको अवस्था जोखिमपूर्ण हुन सक्ने भएकाले रातिको समयमा सवारी सञ्चालन रोक्ने निर्णय गरिएको हो । बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सडक बन्द गरेर सो अवधिमा सडकको अवस्था निरीक्षण तथा आवश्यक व्यवस्थापनको काम गरिने जनाइएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीका अनुसार बिहान कृष्णभिरलगायत केही स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग केही समय एकतर्फी भएको थियो । पहिरो पन्छाएपछि बिहानैदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।
डिएसपी कार्कीका अनुसार अहिले कृष्णभिरमा सवारीसाधनको आवत-जावत भइरहेको छ । यद्यपि, वर्षा निरन्तर भइरहेकाले राजमार्गको विभिन्न स्थानमा पहिरो तथा लेदो खस्न सक्ने सम्भावना रहेकाले सुरक्षा निकायले सडकको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
यसअघि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोका कारण कृष्णभिरमा सडकको केही भाग क्षतिग्रस्त भएपछि पृथ्वी राजमार्गको उक्त खण्ड लामो समय अवरुद्ध भएको थियो । सडक भासिएपछि नयाँ ट्रयाक निर्माण गरी असोज १ गतेदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा आएको थियो ।
डिएसपी कार्कीले यात्राको क्रममा सडकको अवस्थालाई ध्यानमा राखी सुरक्षित यात्रा गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका लागि जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) को १२३४ वा ०१०–५२१४६४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न सकिनेछ ।
भारी वर्षाका कारण पृथ्वी राजमार्गका अन्य स्थानमा समेत पहिरो तथा सडक अवरोधको जोखिम रहेकाले सवारी चालकलाई सडकको तत्कालीन अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । विशेषगरी रातिको समयमा सडकको दृश्यता कम हुने तथा वर्षाका कारण पहिरोको जोखिम बढ्न सक्ने भएकाले आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवत–जावत रोक्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।
