मृत ठानेर काजकिरिया गरिएकी चण्डिका ११ दिनपछि जीवित भेटिइन्

0 Shares

 काठमाडौं  २० भदौ। नुवाकोटको बेत्रावतीमा भोटेकोशी बाढीले घरसहित बगाएर बेपत्ता भएकी ६४ वर्षीया चण्डिका श्रेष्ठ ११ दिनपछि सकुशल फेला परेकी छन्। उनलाई शनिबार बिहान बाढीले बगाएर पुरिएको घरबाट जीवितै उद्धार गरिएको हो।

बाढी आएको दिनदेखि चण्डिका र उनका श्रीमान् आनन्द श्रेष्ठ सम्पर्कविहीन थिए। चण्डिकाका छोराहरू आशिष र अनिशसहित परिवारका सदस्यले आठ दिनसम्म खोजी गरे पनि उनीहरू दुवैको अवस्था पत्ता लाग्न सकेन।

अन्ततः चण्डिका पनि बाढीमा परेर मृत्यु भएको ठानेर तीन दिनअघि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका थिए। गत बिहीबारदेखि उनका दुवै छोरा आमाबुवाको काजकिरियामा बसेका थिए।

तर शनिबार बिहान आएको एउटा खबरले परिवार नै स्तब्ध बनायो—चण्डिका जीवितै भेटिएकी थिइन्।

चण्डिकाकी भतिजी रिसिका श्रेष्ठका अनुसार बाढी आएको दिनदेखि शनिबार ११ औँ दिनको काम भइरहेको थियो। सोही दिन चण्डिका सकुशल भेटिएपछि पुरोहितले विधिपूर्वक उनको काजकिरिया फुकुवा गराएका छन्।

बेत्रावती लाखे क्लबका अध्यक्ष शशी डंगोलले पनि चण्डिकाको काजकिरिया फुकुवा गरिएको जानकारी दिए।

चण्डिकालाई बाढीले घरसहित बगाएको थियो। स्थानीयका अनुसार उनको घर मूल स्थानबाट करिब ५० मिटर परसम्म बगेर पुगेको थियो। त्यही क्षतिग्रस्त र पुरिएको घरबाट प्रहरीले उनलाई जीवितै उद्धार गरेको हो।

विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङका अनुसार बगाएर ल्याइएको घरबाट मानिसको आवाज आएपछि स्थानीयले उद्धारका लागि खबर गरेका थिए।

उद्धारपछि चण्डिकालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ। उनको स्वास्थ्यमा सुधार भएपछि श्रीमान् आनन्द श्रेष्ठको खोजीलाई थप तीव्र बनाउने परिवारको तयारी छ।

स्थानीयका अनुसार आनन्द श्रेष्ठ भने अझै सम्पर्कविहीन छन्।

बेत्रावतीमा नेवार समुदायका मात्रै २३० भन्दा बढी घर रहेको बताइएको छ। बाढीले कति घर बगायो र कति मानिस अझै बेपत्ता छन् भन्ने यकिन विवरण भने आउन बाँकी छ।

बाढीले बगाएर क्षतिग्रस्त घरबाट ११ दिनपछि समेत महिला जीवितै भेटिएपछि स्थानीयले बेत्रावतीका सबै क्षतिग्रस्त घरमा पुनः व्यापक खोजतलास गर्न सरकारसँग माग गरेका छन्।

‘भोलिबाट बेत्रावतीका प्रत्येक घरमा खोजतलास हुनुपर्छ,’ क्लब अध्यक्ष डंगोलले भने।

बाढीपछि सम्पर्कविहीन भएका धेरै व्यक्तिका परिवारले कुशको शव बनाएर दाहसंस्कार गरी काजकिरिया गरिरहेका छन्। चण्डिकाको घटनाले भने बेपत्ता व्यक्तिको खोजी कार्य अझै प्रभावकारी र व्यापक बनाउनुपर्ने आवश्यकता देखाएको छ।

सम्बन्धित समाचार

सबै