काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहटा र प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले संयुक्त रूपमा उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा नेपाल सरकार, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाले गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीले जनाएको छ।
सूर्यज्योति लाइफका अनुसार विपत्को कठिन परिस्थितिमा गरिएको उक्त सहयोगले बाढी प्रभावित नागरिकका तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा योगदान पुर्याउने विश्वास गरिएको छ।
कम्पनीले राष्ट्रलाई आवश्यकता परेका विभिन्न प्रतिकूल परिस्थितिमा विगतदेखि नै आर्थिक तथा अन्य प्रकारका सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने कम्पनीको प्रतिबद्धता छ।
सूर्यज्योति लाइफले बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै विपत्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
साथै, कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।