आयल निगम र उद्योगीको मिलेमतोमा ग्यासको मूल्यमा वृद्धि

0 Shares

 काठमाडौं १८ भदौ। पृथ्वी  राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण नियमित ढुवानी प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य बढाइएको छ।

नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेको भए पनि ग्यास उद्योगीहरूले ढुवानी लागत बढेको भन्दै प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा थप गरेका छन्।

ग्यास उद्योग संघको १८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं उपत्यकामा अब एलपी ग्यासको उपभोक्ता मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पुगेको छ।

उद्योगीहरूका अनुसार कृष्णभिरमा पहिरो गएपछि पृथ्वी राजमार्गबाट नियमित रूपमा ग्यास ढुवानी गर्न नसक्दा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ। काठमाडौं उपत्यकाका ग्यास उद्योगहरूले तराई क्षेत्रका उद्योगमा ग्यास रिफिल गरी थप माध्यमबाट काठमाडौं ल्याउनुपर्ने भएकाले ढुवानी खर्च बढेको उनीहरूको भनाइ छ।

ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार यसअघि बुलेटमार्फत प्रत्यक्ष ग्यास ढुवानी हुँदै आएको थियो। एउटा बुलेटमा करिब १ हजार २५० सिलिन्डर ग्यास आउने भए पनि अहिले तराईमा बोटलिङ गरेर अन्य माध्यमबाट काठमाडौं ल्याउनुपर्दा लागत बढेको हो।

उनका अनुसार ढुवानी खर्च प्रतिसिलिन्डर करिब १ सय ८० रुपैयाँ पर्ने भए पनि त्यसको केही हिस्सा मात्र उपभोक्तामाथि पर्ने गरी १ सय ५ रुपैयाँ थप गरिएको हो।

निगमसँगको सहमतिअनुसार मूल्य बढाएको उद्योगीको दाबी

नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीले ग्यासको खरिद दर नबढेको दाबी गर्दै ढुवानी लागत बढेका कारण मात्र उपभोक्ता मूल्य वृद्धि गरिएको बताएका छन्।

उनका अनुसार नेपाल आयल निगमले काठमाडौंसम्मको सम्पूर्ण ढुवानी खर्च नदिई उद्योगबाट ५० किलोमिटर दूरीसम्मको मात्र ढुवानी खर्च समेटेर मूल्य निर्धारण गर्ने गरेको छ।

५० किलोमिटरभन्दा बढी दूरीमा ग्यास ढुवानी गर्दा लाग्ने अतिरिक्त खर्च उद्योगीले उपभोक्ताबाट लिन पाउने निगमसँगको सहमति र प्रावधानअनुसार प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ वृद्धि गरिएको उनको भनाइ छ।

भण्डारीका अनुसार उद्योगीहरूको वास्तविक अतिरिक्त खर्च प्रतिसिलिन्डर २ सय रुपैयाँभन्दा बढी भए पनि निगमको प्रावधानअनुसार १ सय ५ रुपैयाँभन्दा बढी लिन नमिल्ने भएकाले घाटा सहेरै ग्यास आपूर्ति गर्नुपरेको छ।

निगम भन्छ ५० किलोमिटरभन्दा बढीको ढुवानी खर्च उद्योगीले लिन पाउँछन्

नेपाल आयल निगमले भने उद्योगबाट ५० किलोमिटरसम्मको दूरीका लागि मात्रै ग्यासको मूल्य निर्धारण गर्ने गरेको जनाएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ५० किलोमिटरभन्दा बढी दूरीमा ग्यास ढुवानी गर्दा लाग्ने अतिरिक्त भाडा उद्योगीहरूले आफैं जोडेर लिन पाउने व्यवस्था छ।

‘निगमले तोक्ने मूल्य उद्योगदेखि ५० किलोमिटर दूरीसम्मका लागि हो। त्योभन्दा बढी दूरीमा भने उद्योगीहरूले ढुवानी भाडा जोडेर लिन पाउँछन्,’ ठाकुरले बताए।

उनले यो नयाँ व्यवस्था नभई विगतदेखि नै लागू हुँदै आएको प्रावधान भएको स्पष्ट पारे। उनका अनुसार देशका अन्य स्थानमा पनि उद्योगबाट ५० किलोमिटरभन्दा बढी दूरीमा ग्यास पठाउँदा अतिरिक्त ढुवानी खर्च उपभोक्ताबाट लिन पाउने व्यवस्था रहेको छ।

कृष्णभिरको पहिरोका कारण नियमित ढुवानी मार्ग प्रभावित भएपछि वैकल्पिक मार्ग प्रयोग गर्दा बढेको अतिरिक्त खर्चको भार अहिले काठमाडौं उपत्यकाका उपभोक्तामाथि परेको छ।

सम्बन्धित समाचार

सबै