काठमाडौं ९ भदाै । महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको १८औँ संस्करणको नाडा अटो शो २०२६ मा सहभागिता जनाएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भइरहेको प्रदर्शनीमा बैंकले स्टल नं. एल–०४ मार्फत आफ्ना बैंकिङ सेवा तथा सवारी कर्जा योजनाबारे जानकारी दिइरहेको छ।
सवारीसाधन खरिद गर्न आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय प्रदर्शनीस्थलबाटै उपलब्ध गराउने बैंकले जनाएको छ। विद्युतीय तथा अन्य निजी एवं व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने बैंकको भनाइ छ।
बैंकका अनुसार भदौ महिनाका लागि सवारी कर्जाको आधार दर ५.६४ प्रतिशत कायम गरिएको छ। उक्त आधार दरका आधारमा ग्राहकले आकर्षक ब्याजदरमा सवारी कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। साथै, नाडा अटो शोको अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट उपलब्ध गराउने बताएको छ।
महालक्ष्मी विकास बैंकले नाडा अटो शोमा हरेक वर्ष सहभागिता जनाउँदै आएको छ। प्रदर्शनीमार्फत ग्राहकलाई सवारी कर्जा, बैंकिङ सुविधा तथा अन्य वित्तीय सेवाबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउने अवसर प्राप्त भएको बैंकले जनाएको छ।
बैंकले ग्राहकको बदलिँदो आवश्यकता र प्रविधिमैत्री बैंकिङ सेवालाई प्राथमिकता दिँदै डिजिटल बैंकिङ सेवाको विस्तारलाई समेत अघि बढाएको छ। यसै क्रममा बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा क्याफेसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।
डिजिटल हबमार्फत ग्राहकलाई थप सहज, आधुनिक र प्रविधिमैत्री बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ। सवारी कर्जा तथा डिजिटल बैंकिङ सेवाको विस्तारसँगै ग्राहकलाई वित्तीय सेवा लिन थप सहज हुने बैंकको अपेक्षा छ।