महाधिवेशनमा रविको प्रतिवेदन : सरकारका १० प्रमुख काम

0 Shares

चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा वर्तमान सरकारले गरेका प्रमुख कामहरूलाई राजनीतिक प्रतिवेदनमार्फत सार्वजनिक गरेको छ। पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गरेको प्रतिवेदनमा सरकारको कार्यसम्पादनलाई सुशासन, पारदर्शिता, जवाफदेहिता र विकासमुखी अभियानका रूपमा चित्रण गरिएको छ।

‘विश्वास रोपिरहेको र आशा जगाइरहेको सरकार’ शीर्षक अन्तर्गत प्रस्तुत प्रतिवेदनमा वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले छोटो अवधिमै विभिन्न नीतिगत तथा प्रशासनिक सुधारका काम अघि बढाएको दाबी गरिएको छ।

प्रतिवेदनमा सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन डिजिटल तथा प्रशासनिक सुधार सुरु गरिएको उल्लेख छ। सरकारी सेवामा रहेको ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र अनावश्यक बिचौलियाको प्रभाव घटाउन प्रयास भइरहेको दाबी गरिएको छ।

त्यस्तै, कानुनी शासन सुदृढ गर्दै दण्डहीनताको अन्त्यका लागि विभिन्न कदम चालिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने मान्यतालाई व्यवहारमा उतार्ने प्रयास सरकारले गरिरहेको रास्वपाको दाबी छ।

उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरिएको, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक उत्तरदायित्व बढाउने दिशामा यो कदम महत्त्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ।

संविधान संशोधनका लागि सुझाव संकलन र परामर्श प्रक्रिया सुरु गरिएको तथा समयानुकूल र समावेशी संविधान निर्माणतर्फ सरकार अग्रसर रहेको पनि प्रतिवेदनमा जनाइएको छ।

रास्वपाले राजनीतिक नियुक्ति प्रणालीमा सुधार गर्दै योग्यताका आधारमा नियुक्ति प्रक्रिया अघि बढाइएको दाबी गरेको छ। यसले सार्वजनिक संस्थाहरूको पेशागत क्षमता र विश्वसनीयता बढाउने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ।

सहकारी पीडितको बचत फिर्ता गराउने प्रक्रिया सुरु गरिएको, वित्तीय अनुशासन कायम गर्ने प्रयास गरिएको तथा बचतकर्ताको विश्वास पुनर्स्थापित गर्ने दिशामा सरकार लागेको पनि प्रतिवेदनमा समेटिएको छ।

सार्वजनिक तथा सरकारी जग्गा संरक्षण, बिचौलिया नियन्त्रण, राज्य स्रोतको दुरुपयोग रोक्ने प्रयास र पारदर्शिता प्रवर्द्धनलाई पनि सरकारका उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।

यस्तै, अव्यवस्थित बसोबासीको समस्या समाधान तथा लालपूर्जा वितरणको प्रक्रिया अघि बढाइएको र भूमिहीन नागरिकलाई दीर्घकालीन समाधान दिने तयारी भइरहेको प्रतिवेदनमा उल्लेख छ।

रास्वपाले वर्षौंदेखि रोकिएका विकास आयोजनाहरूलाई गति दिइएको दाबी गर्दै यसबाट रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार र जनस्तरमा विकासको प्रत्यक्ष लाभ पुग्ने अपेक्षा व्यक्त गरेको छ।

महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले सरकारका यी कार्यहरूलाई नागरिकमा विश्वास र आशा जगाउने प्रयासका रूपमा व्याख्या गरेको छ।

रास्वपाको प्रतिवेदनमा उल्लेख गरिएका सरकारका १० प्रमुख काम

  1. सुशासन सुदृढीकरण र सेवा प्रवाह सुधार
    • सरकारी सेवा छरितो, पारदर्शी र प्रभावकारी बनाउन प्रशासनिक तथा डिजिटल सुधार सुरु।
  2. दण्डहीनताको अन्त्य र कानुनी शासन स्थापना
    • कानुन उल्लङ्घनमा संलग्नलाई कानुनी दायरामा ल्याउने र कानुन सबैका लागि समान लागू गर्ने प्रयास।
  3. उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन
    • पूर्व तथा वर्तमान उच्च पदाधिकारीहरूको सम्पत्ति अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन।
  4. संविधान संशोधनका लागि परामर्श प्रक्रिया
    • संविधानलाई समयानुकूल बनाउन सुझाव संकलन र सरोकारवालासँग छलफल सुरु।
  5. राजनीतिक नियुक्तिमा सुधार
    • विवादास्पद नियुक्ति खारेज गरी योग्यता र प्रतिस्पर्धाका आधारमा नियुक्ति प्रक्रिया अघि बढाइएको।
  6. सहकारी पीडितलाई राहत
    • बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया सुरु गरी वित्तीय प्रणालीप्रति विश्वास बढाउने प्रयास।
  7. सार्वजनिक सम्पत्ति संरक्षण
    • सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि पहल।
  8. बिचौलिया नियन्त्रण र पारदर्शिता प्रवर्द्धन
    • राजनीतिक पहुँचका आधारमा प्रभाव जमाउने बिचौलियाविरुद्ध कानुनी कारबाही।
  9. अव्यवस्थित बसोबासी व्यवस्थापन
    • भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण र पुनर्स्थापनाको तयारी।
  10. विकास आयोजनामा तीव्रता
  • लामो समयदेखि रोकिएका विकास परियोजनालाई गति दिई रोजगारी र आर्थिक गतिविधि विस्तार गर्ने प्रयास।

सम्बन्धित समाचार

सबै