सिस्नेखोला–नागढुंगा सुरुङमार्ग : परीक्षण चरणमा प्रवेश

0 Shares

काठमाडौँ,  वैशाख  १६ गते ।  वैशाख अन्तिम साता । देशकै महत्वपूर्ण पूर्वाधार आयोजनामध्ये एक सिस्नेखोला–नागढुंगा सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । सुरुङमार्गमा अब टोल फी गेट निर्माण र पहिरो नियन्त्रणका काम अन्तिम चरणमा पुगेका छन् । वैशाख अन्तिम सातादेखि परीक्षणका रूपमा सवारी गुडाउन सुरु गरिने र साउन महिनादेखि पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ ।

यो सुरुङमार्ग जापान सरकारको सहुलियत ऋण तथा प्राविधिक सहयोगमा निर्माण भएको हो भने यसको सञ्चालन एक चिनियाँ कम्पनीले गर्ने निश्चित गरिएको छ । परीक्षण अवधिमा सुरुङमार्गको सुरक्षा, भेन्टिलेसन, आपतकालीन सेवा तथा सवारी व्यवस्थापन प्रणालीको विस्तृत परीक्षण गरिनेछ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश र बाहिरिने सवारी साधनका लागि टोल शुल्क निर्धारण गरिएको छ । काठमाडौं भित्रिँदा कार तथा भ्यानलाई ६५ रुपैयाँ, मिनीबस तथा ट्रकलाई ११५ रुपैयाँ, ठुला बस तथा ट्रकलाई २६० रुपैयाँ र भारी उपकरणलाई ६०० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै, काठमाडौंबाट बाहिरिँदा कार तथा भ्यानलाई ६० रुपैयाँ, मिनीबस तथा ट्रकलाई ८० रुपैयाँ, ठुला बस तथा ट्रकलाई २०० रुपैयाँ र भारी उपकरणलाई २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा क्षेत्रमा हुने लामो सवारी जाम घट्ने, यात्रा समय छोटिने, इन्धन बचत हुने र वातावरणीय प्रदूषण कम हुने अपेक्षा गरिएको छ । यस आयोजनालाई नेपालको यातायात पूर्वाधार विकासतर्फ एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार

सबै