काठमाडौं बैशाख ९ गते । नेकपा एमाले ले पार्टीको ७७औँ स्थापना दिवसका लागि तयार पारिएको प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओली को तस्बिर नराखेपछि पार्टीभित्र यसको अर्थबारे व्यापक चर्चा सुरु भएको छ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार दिउँसो २ बजे आयोजना हुने कार्यक्रमका लागि महासचिव शंकर पोखरेल स्वयंले सार्वजनिक गरेको सूचना सामग्रीमा अध्यक्ष ओलीको तस्बिर समावेश छैन। ओलीका विश्वासपात्र मानिने पोखरेलबाटै यस्तो सामग्री सार्वजनिक हुनु थप अर्थपूर्ण रूपमा हेरिएको छ।
पछिल्लो समय एमालेभित्र संगठनलाई केन्द्रदेखि तल्लो तहसम्म पुनर्गठन गर्नुपर्ने आवाज उठिरहेका बेला यस्तो घटनालाई राजनीतिक संकेतका रूपमा व्याख्या गर्न थालिएको छ। यद्यपि, पार्टी नेतृत्वले भने यसलाई सामान्य विषय भन्दै कुनै विशेष अर्थ ननिकाल्न आग्रह गरेको छ।
केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारी ले उक्त सामग्री केवल कार्यक्रममा सहभागी हुन आह्वान गर्ने सूचना मात्र भएको स्पष्ट पार्दै तस्बिर नराखिएको विषयलाई अनावश्यक रूपमा उचालिएको बताए। “मूल ब्यानरमा होइन, सूचना सामग्रीमा अध्यक्षको तस्बिर नराखिएको हो, यसलाई ठूलो विषय बनाउन आवश्यक छैन,” उनले भने।
उनका अनुसार अध्यक्ष ओली हाल स्वास्थ्य लाभको क्रममा रहेकाले स्थापना दिवस कार्यक्रममा उनको सहभागिता हुने वा नहुने अझै निश्चित भइसकेको छैन। यही कारण कार्यक्रमको स्वरूप, वक्ताहरू र सञ्चालन विधि पनि टुंगो लागिसकेको छैन।
एमालेले यस वर्ष स्थापना दिवस सामान्य तरिकाले मनाउने तयारी गरेको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले अन्तर्क्रिया, संवाद तथा विचार गोष्ठी जस्ता कार्यक्रममार्फत दिवस मनाउने निर्णय गरिसकेको छ। कार्यक्रममा काठमाडौं उपत्यकाभित्र उपलब्ध केन्द्रीय सदस्य, सल्लाहकार, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहनेछ, तर अन्य दललाई निमन्त्रणा नगर्ने निर्णय गरिएको छ।
यसअघि भने एमालेले सार्वजनिक कार्यक्रमका प्रचार सामग्रीमा अध्यक्ष ओलीको तस्बिर अनिवार्य राख्न निर्देशन दिएको थियो। २०८० साउन २९ गतेको सचिवालय बैठकले अध्यक्षबाहेक अन्य नेताको तस्बिर प्रयोग नगर्ने निर्णयसमेत गरेको थियो, जसबारे विष्णु रिमाल ले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।
विगतको यस्तो कडा निर्देशनपछि अहिलेको प्रचार सामग्रीमा अध्यक्षकै तस्बिर नहुनु एमालेभित्रको बदलिँदो आन्तरिक सन्देशका रूपमा विश्लेषण हुन थालेको छ।