सुकुम्बासी उठिबासप्रति नेकपाको आपत्ति, पुनर्वासबिना घर भत्काउने कार्य तत्काल रोक्न माग

0 Shares

 काठमाडौं, वैशाख ६ गते।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारमाथि गरिरहेको उठिबास र झुप्रा भत्काउने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ।

आइतबार जारी प्रेस विज्ञप्तिमार्फत पार्टीले यस्तो कदमलाई ‘अमानवीय’ करार दिँदै तत्काल रोक्न र प्रभावित परिवारका लागि व्यवस्थित पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको हो।

विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनको नाममा गरिएका गतिविधिले पीडित परिवारलाई थप बिचल्ली बनाएको उल्लेख गर्दै यसले सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर बनाउने खतरा बढाएको चेतावनी दिइएको छ। “समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

यसैबीच, नयाँ सरकार गठन भएलगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै नेकपाले त्यसलाई नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य ठहर गरेको छ। पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।

त्यसैगरी, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धी–सम्झौताहरूको उल्लंघन हुने पनि विज्ञप्तिमा उल्लेख छ।

वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको स्मरण गराउँदै नेकपाले सकारात्मक कार्यक्रमहरूको स्वागत गरेको जनाएको छ। तर शासन सञ्चालन र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही तथा एकपक्षीय प्रवृत्तिले चिन्ता बढाएको टिप्पणी गरिएको छ।

पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदूर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ।

“लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

सबै