गुल्मी अस्पताल को नयाँ भवन निर्माणमा ढिलाइ, पाँच वर्षमा पनि अपूरो

0 Shares

तम्घास (गुल्मी), चैत १३ गते। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको गुल्मी अस्पताल को नयाँ भवन निर्माण कार्य पाँच वर्ष पुग्न लाग्दा पनि पूरा हुन सकेको छैन। ठेकेदार कम्पनीको ढिलासुस्ती र कमजोर कार्यगतिले निर्माण प्रक्रिया लम्बिँदै गएको छ।

२०७८ असार १८ गते सम्झौता भई सुरु गरिएको पाँचतले सुविधासम्पन्न भवन २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँको लागतमा निर्माण गर्ने जिम्मा स्वच्छन्द–बाँनिया जेभी ले पाएको थियो। सम्झौताअनुसार २०८० असार १७ गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म भौतिक प्रगति करिब ९१ प्रतिशतमै सीमित रहेको छ।

ठेकेदार पक्षका सबइन्जिनियर अरवीन्द्र चौधरीका अनुसार हाल भवनमा बिजुली जडान, आल्मुनियम फिटिङलगायतका अन्तिम चरणका काम भइरहेका छन्। उनले काम ढिला हुनुका कारण श्रमिक अभाव, चाडपर्व र देशमा भएका आन्दोलनलाई देखाएका छन्। तर स्थानीयवासीले भने यस्ता कारणले मात्र पाँच वर्षसम्म काम अधुरो रहनु स्वीकार्य नभएको बताएका छन्।

यसअघि पटक–पटक म्याद थप गर्दै आएको निर्माण कम्पनीले गत दसैँसम्म काम सक्ने प्रतिबद्धता जनाएको थियो। पछि चैत मसान्तभित्र भवन हस्तान्तरण गर्ने भनिए पनि सो समयसीमा पनि पूरा नहुने देखिएको छ।

हाल गुल्मी अस्पताल का पुराना भवन साना र साँघुरा भएकाले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन कठिन भइरहेको छ। नयाँ भवन निर्माणमा भइरहेको ढिलाइप्रति स्थानीयवासी तथा बिरामीहरू असन्तुष्ट छन्। उनीहरूले सरोकारवाला निकायको कमजोर अनुगमन र दबाब अभावका कारण काम लम्बिएको आरोप लगाएका छन्।

अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले निर्माण व्यवसायीलाई काम छिटो सम्पन्न गर्न निरन्तर खबरदारी गरिएको बताउनुभयो। २०७१ सालमै ५० शय्यामा स्तरवृद्धि भएको अस्पताल पर्याप्त भौतिक पूर्वाधार नहुँदा पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन।

नयाँ भवन समयमै सम्पन्न नहुँदा गुल्मी अस्पताल अझै पुरानै संरचनाबाट सेवा दिन बाध्य छ, जसले स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती सिर्जना गरेको छ।

सम्बन्धित समाचार

सबै