लुम्बिनीलाई सडकआश्रितमुक्त बनाउन मानवसेवा आश्रम को विशेष अभियान सुरु

0 Shares

नेपालगन्ज, चैत १५ गते। सडकपेटी, सार्वजनिक स्थल र खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका बेसहारा नागरिकको उद्धारका लागि मानवसेवा आश्रम ले लुम्बिनी प्रदेशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ।

“सहयोगापेक्षी सडकआश्रित मानवमुक्त लुम्बिनी प्रदेश” बनाउने लक्ष्यसहित चैत १५ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने यस अभियानमार्फत प्रदेशका १२ जिल्लामा प्रत्यक्ष उद्धार र व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने आश्रमले जनाएको छ।

आश्रम बाँकेका प्रमुख उर्विन सापकोटाका अनुसार अभियानअन्तर्गत सडकमा अलपत्र, मानसिक रूपमा कमजोर, अशक्त तथा अभिभावकविहीन व्यक्तिहरूको खोजी, उद्धार, स्वास्थ्य परीक्षण र सुरक्षित आश्रयमा व्यवस्थापन गरिनेछ।

उक्त अभियान बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र रुपन्देही जिल्लामा केन्द्रित रहनेछ। अभियान टोलीले प्रत्येक जिल्लामा पुगेर प्रत्यक्ष अध्ययन तथा उद्धार सेवा प्रदान गर्ने तयारी गरेको छ।

सापकोटाका अनुसार अभियानको उद्देश्य तत्काल उद्धार मात्र नभई स्थानीय तह, सुरक्षानिकाय र सरोकारवालासँग सहकार्य गरी दीर्घकालीन रूपमा सडकआश्रित मानवमुक्त प्रदेश निर्माण गर्नु हो।

हाल बाँकेको नेपालगन्जस्थित आश्रममा ८० जना आश्रित रहेका छन् भने लुम्बिनी प्रदेशका विभिन्न शाखामार्फत करिब ३७५ जनालाई सेवा दिइँदै आएको छ। संयोजक सरु अधिकारीका अनुसार रुपन्देहीको बुटवल शाखामा ५५, तिलोत्तमामा १८०, दाङमा ६० र नेपालगन्जमा ८० जना आश्रितहरूको संरक्षण भइरहेको छ।

वि.सं. २०६९ देखि सक्रिय मानवसेवा आश्रम ले बेसहारा, अशक्त तथा मानसिक रूपमा अस्वस्थ व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलनमा निरन्तर काम गर्दै आएको छ।

आश्रमले सर्वसाधारणलाई अपिल गर्दै सडकमा सहयोगापेक्षी व्यक्ति देखिएमा नजिकको उद्धार टोली वा आश्रमलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै