काठमाडौँ, चैत १४ गते। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार पछिल्लो २४ घण्टामा देशका २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार यस अवधिमा एक करोड १४ लाख ७२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

प्राधिकरणका अनुसार आगलागी र सर्पदंशका घटनाबाट मानवीय क्षति बढी देखिएको छ। आगलागीका १५ घटनामा दुई जनाको ज्यान गएको छ भने १३ जिल्ला प्रभावित भएका छन्। आगलागीबाट एक जना घाइते भएका छन्। त्यस्तै, सर्पदंशका दुई घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आगलागी नियन्त्रण तथा उद्धारका लागि ६३ जना प्रहरी परिचालन गरिएको थियो।
यस अवधिमा अन्य विपद्का घटनाहरू पनि उल्लेख्य रहेका छन्। पाँच वटा बाढी, चार वटा पहिरो, पाँच वटा चट्याङ र तीन वटा हावाहुरीका घटना भएका छन्। चट्याङ लागेर नौ जना घाइते भएका छन् भने हावाहुरीबाट एक जना घाइते भएका छन्। बाढी प्रभावित क्षेत्रबाट ११ जनाको सफल उद्धार गरिएको प्राधिकरणले जनाएको छ। यसबाहेक वन डढेलोका दुई, अविरल वर्षाको एक र जनावर आक्रमणको एक घटना पनि दर्ता भएका छन्।
विगत एक वर्ष (२०८२ वैशाख १ देखि हालसम्म) को तथ्याङ्क हेर्दा देशभर विपद्का घटनाहरूको संख्या ७ हजार २७९ पुगेको छ। ती घटनामा ४८१ जनाको मृत्यु भएको छ भने ३८ जना अझै बेपत्ता रहेका छन्। यस्तै, १ हजार ९०६ जना घाइते भएका छन् भने १३ हजार १५१ परिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार चालु वर्षमा सबैभन्दा बढी मानवीय क्षति आगलागीबाट भएको छ, जहाँ १०२ जनाले ज्यान गुमाएका छन्। त्यसपछि सर्पदंशबाट ९८, पहिरोबाट ७६ र बाढीबाट ३८ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ।
प्राधिकरणले नागरिकलाई सतर्क रहन, विशेष गरी आगलागी, चट्याङ र सर्पदंशबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
