काठमाडौँ, ३० फागुन । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले बिहीबार दुई विधेयक प्रमाणीकरण गरेका छन्।

प्रमाणीकरण भएका विधेयकहरूमा गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्ने विधेयक र गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक ०८२ समावेश छन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलका अनुसार, खानी विधेयक २४ कार्तिक र विश्वविद्यालय संशोधन विधेयक २८ कार्तिकमा बसेको प्रदेशसभा बैठकले पारित गरेको थियो।
प्रदेश सभाको सभामुख कृष्ण धितालले विधेयक प्रमाणित गरेपछि, ९ मंसिरमा प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो। प्रमुख भट्टले प्रत्येक विधेयक पाँच÷पाँच प्रति हस्ताक्षर गरी प्रमाणीकरण गरेका हुन्।
नेपालको संविधानको धारा २०१ बमोजिम प्रमाणीकरणपछि विधेयक ऐन बन्ने कानुनी व्यवस्था रहेको छ। प्रमाणीकरणपछि एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिनेछ भने बाँकी चार प्रति मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश सभा सचिवालय, सम्बन्धित मन्त्रालय र संघीय कानुन तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइने व्यवस्था छ।
