कावासोती, फागुन २९ गते । गण्डकी प्रदेशकै एक मात्र साझेदारी वन, पूर्वी नवलपरासीको मध्यविन्दु साझेदारी वनले जैविक मल उत्पादन सुरु गरेको छ।
वनमा रहेको प्रयोगविहीन झाडी काटेर प्रशोधन गरी मल उत्पादन गर्न थालिएको हो। यस पहलले वन व्यवस्थापनमा सहयोग, डढेलोबाट वन जोगाउने, रोजगारी सिर्जना गर्ने र खेतीमा प्रयोग हुने रासायनिक मलको स्थानमा अर्गानिक मलको प्रयोग बढाउने उद्देश्य राखिएको छ।
वन अध्यक्ष भगवान खनालका अनुसार जैविक मल उत्पादनले स्थानीय कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साझेदारी वनको यो पहलले सुरक्षित वन व्यवस्थापन र दिगो कृषि विकास दुवैमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।














