मुक्तिनाथ (मुस्ताङ), फागुन २९ गते । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, ग्यतङथाङ्कमा ज्यालामजदुरी गर्न आएका म्याग्दीको धवलागिरि गाउँपालिका–६, मराङका रामबहादुर कामीले निःशुल्क स्वास्थ्य परीक्षण र औषधि पाउनुभएको छ।

स्थानीय घर र खेतबारीमा परिवारसहित काम गर्न आएका कामीले बिरामी भएपछि वडा कार्यालयबाट खटिएका स्वास्थ्यकर्मीको जाँच र औषधि वितरणबाट उपचार खर्च नगरी सेवा पाएका हुन्।
ग्यतङथाङ्क गाउँमा जिल्ला बाहिरबाट आउने मजदुरका लागि स्वास्थ्यकर्मी गाउँमै पुगेर नियमित खोप र उपचार उपलब्ध गराउँदा राहत मिलिरहेको छ। मजदुर कामीले भन्नुभयो, “जिल्ला बाहिरबाट आउँदा उपचारका लागि सदरमुकाम जोमसोम जानुपर्थ्यो, अब गाउँमै स्वास्थ्य जाँच र औषधि पाउँदा सहज भएको छ।”
कागबेनीमा म्याग्दी, बागलुङसहित देशका विभिन्न जिल्लाबाट होटल, कृषि तथा विकास निर्माण क्षेत्रमा काम गर्न आउने मजदुरलाई वडा कार्यालयको सक्रियतामा स्वास्थ्य परीक्षण र औषधि वितरण गरिँदै आएको छ। यसै क्रममा ग्यतङथाङ्क गाउँमा जिल्ला बाहिरबाट आएका २२ मजदुरको उपचार गरिएको छ।
वडा अध्यक्ष कर्म घ्यचो गुरुङले भन्नुभयो, “मजदुरीका लागि आउनेले रोग लुकाउन सक्ने भएकाले खोजेर उपचार गर्नु हाम्रो कर्तव्य हो। मजदुरलाई स्थानीय स्तरको स्वास्थ्य सेवा, शिक्षा र आधारभूत आवश्यकतामा समान पहुँच सुनिश्चित गर्दै आएका छौँ।”
उहाँका अनुसार, तराई र पहाडी जिल्लाबाट आउने मजदुरमा लेक लाग्ने समस्या हुने भएकाले स्वास्थ्यकर्मीले थप उपचार आवश्यक परेमा सिफारिस पनि गर्ने काम भइरहेको छ। नियमित औषधि सेवन गरिरहेका बिरामीलाई सरकारले निःशुल्क उपलब्ध गराएको औषधि तथा उच्च रक्तचाप, मधुमेह र अन्य जटिल रोगको पहिचान भएमा तथ्याङ्क संकलन गरी सहजीकरण गरिनु सहज भएको छ।














