बंगलादेशमा बीएनपीको स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

0 Shares

काठमाडौं १ फागुन । बंगलादेश मा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ। प्रारम्भिक नतिजाअनुसार बीएनपीले प्रतिनिधि सभाका अधिकांश सिटमा अग्रता लिँदै सरकार गठनको मार्ग प्रशस्त गरेको हो।

बंगलादेशका कुल ३०० मध्ये २९९ सिटमा मतदान भएको थियो। शेरपुर–३ निर्वाचन क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको मतदान स्थगित गरिएको थियो। २९९ सिटमध्ये २०६ सिटको मतपरिणाम सार्वजनिक हुँदा बीएनपीले १६५ सिट जितेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बीएनपी अध्यक्ष तारिक रहमान दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए र दुवै क्षेत्रमा विजयी भएका छन्। यससँगै उनी प्रधानमन्त्री बन्ने निश्चितजस्तै भएको छ। रहमान गत वर्ष डिसेम्बरमा १७ वर्षपछि स्वदेश फर्किएका थिए। उनका आमा तथा पूर्वप्रधानमन्त्री खालिदा जिया लामो समयदेखि सक्रिय राजनीतिमा नरहेपछि पार्टी नेतृत्व रहमानले सम्हाल्दै आएका छन्।

जमात–ए–इस्लामीको नेतृत्वमा बनेको ११ दलीय गठबन्धनले हालसम्म ४५ सिट जितेको छ। जमात प्रमुख शफीकुर रहमानले ढाका–१५ क्षेत्रबाट जित हासिल गरेका छन्। अन्य दल र स्वतन्त्र उम्मेदवारले ३ सिट जितेका छन्।

करीब दुई दशकदेखि सत्ताबाहिर रहेको बीएनपीको यो पुनरागमनलाई बंगलादेशको राजनीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ। मतदानपछि तारिक रहमानले कानून–व्यवस्था सुदृढीकरण, सुशासन र आर्थिक पुनरुत्थान आफ्नो सरकारको प्राथमिकतामा रहने बताएका थिए।

यो निर्वाचन जुलाई २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि सम्पन्न पहिलो राष्ट्रिय चुनाव हो। उक्त आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएकी थिइन्। उनको पार्टी अवामी लिग माथि प्रतिबन्ध लगाइएकाले यसपटक चुनावमा भाग लिन पाएन।

हाल भारतमा निर्वासनमा रहेकी शेख हसिनाले निर्वाचनलाई ‘फर्जी र असंवैधानिक’ भन्दै अस्वीकार गरेकी छन्। उनले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस ले गैरकानुनी रूपमा सत्ता कब्जा गरी त्यही आधारमा चुनाव गराएको आरोप लगाएकी छन्।

नयाँ सरकार गठनसँगै बंगलादेशको राजनीतिक दिशा कता मोडिन्छ भन्ने चासो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायमा समेत बढेको छ।

सम्बन्धित समाचार

सबै