सल्यान, माघ २८ गते । सल्यानमा डबल क्याब बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ४ का ३४ वर्षीय चालक विजय विश्वकर्मा रहेका छन्। रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो जिप कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना हुँदा चालक विश्वकर्माको घटनास्थलमै मृत्यु भएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो।
बुधबार बिहान करिब पौने ५ बजे उक्त बोलेरो जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी कपुरकोट, गाउँ प्रहरी तथा जनप्रतिनिधि उद्धार कार्यमा खटिएका थिए।
दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो। घाइतेहरूको पहिचान हालसम्म खुल्न सकेको छैन।
दुर्घटनाबारे एक जना घाइतेले जानकारी गराएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी कपुरकोटले जनाएको छ।













