काठमाडौँ, माघ १९ गते । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमणका लागि सोमबार जापान आइपुग्नुभएको छ । जापान सरकारको निमन्त्रणामा प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ जापान भ्रमणमा जानुभएको हो ।
राष्ट्रपति पौडेललाई जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा, जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरेका थिए ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल जापान पुग्नुभएको हो । भ्रमणका क्रममा माघ १९ गते जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा उहाँ सहभागी हुनुहुने कार्यक्रम छ ।
त्यस्तै, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट हुनेछ । सोही दिन जापानका प्रधानमन्त्री ताकाइची सानाएसँग पनि भेटवार्ता हुने तय भएको छ । भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।
राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँग अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनुहुनेछ भने जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ ।
नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा दूतावास स्थापना गरेका थिए ।
राष्ट्रपति पौडेल चारदिने औपचारिक भ्रमण सम्पन्न गरी माघ २१ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । उहाँ माघ १८ गते आइतबार राति नेपालबाट जापान प्रस्थान गर्नुभएको थियो ।