पृथ्वी जयन्ती : इतिहासको सम्झना कि वर्तमानको चुनौती ?

0 Shares

 राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती । हरेक वर्ष जस्तै यस वर्ष पनि औपचारिक कार्यक्रम, माल्यार्पण र भाषणहरू हुँदैछन् । तर प्रश्न उही छ , के हामी पृथ्वी जयन्तीलाई केवल इतिहासको स्मृतिदिवसमा सीमित गर्दैछौँ, कि उहाँले देखाएको राष्ट्रनिर्माणको दृष्टिलाई आजको राजनीतिक व्यवहारसँग जोडेर आत्मसात् गर्न सकिरहेका छौँ ?

पृथ्वीनारायण शाहले ‘नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो’ भनेका थिए । त्यो कथन केवल जातीय समावेशिताको सन्देश मात्र थिएन, त्यो राष्ट्रिय एकता र साझा स्वार्थको राजनीतिक दर्शन थियो । तर आजको नेपाल हेर्दा लाग्छ हामी फूलबारी होइन, स्वार्थका काँडाले भरिएको मैदानतिर उन्मुख छौँ ।

आजको राजनीतिक घटनाक्रमले देखाएको यथार्थ के हो भने राष्ट्रभन्दा ठूलो सत्ता भएको छ, संविधानभन्दा ठूलो सत्ता समीकरण भएको छ, र जनमतभन्दा ठूलो व्यक्तिगत महत्वाकांक्षा भएको छ । सरकार फेरबदल, गठबन्धनको अंकगणित, प्रधानमन्त्री बन्ने दौड र कुर्सी जोगाउने खेलमा राष्ट्रिय एजेन्डा ओझेलमा परेको छ ।

पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ भनेका थिए । त्यो चेतावनी आज झन् सान्दर्भिक बनेको छ । भूराजनीतिक दबाब, विदेशी प्रभाव, आर्थिक निर्भरता र नीति निर्माणमा आत्मनिर्णयको कमजोर अवस्थाले उहाँको उक्त भनाइलाई पुनः जीवन्त बनाएको छ । तर दुःखद् कुरा आजका शासकहरू त्यो चेतावनीलाई राष्ट्रिय रणनीति होइन, औपचारिक भाषणको अलंकार मात्र बनाइरहेका छन् ।

आज राष्ट्रवाद धेरैको मुखमा छ, तर व्यवहारमा कमैको मनमा । कोही पृथ्वीनारायण शाहको नाम लिन्छन् सत्ता टिकाउन, कोही राजसंस्थाको बहस उठाउँछन् राजनीतिक असफलताबाट ध्यान मोड्न, र कोही इतिहासलाई प्रयोग गर्छन् वर्तमानका प्रश्नबाट भाग्न । राष्ट्रवाद नारामा सीमित हुँदा राज्य कमजोर हुन्छ, र राज्य कमजोर हुँदा नागरिकको भरोसा टुट्छ ।

पृथ्वीनारायण शाहले बल, कूटनीति र दूरदर्शिताबाट राष्ट्र एकीकरण गरे । आज भने राजनीतिक दलहरू विभाजन, अविश्वास र सत्ताकेन्द्रित सोचबाट राष्ट्रलाई कमजोर बनाइरहेका छन् । संसद् जनताको आवाजभन्दा दलगत स्वार्थको अखडा बनेको छ । सुशासनको कुरा भाषणमा छ, तर व्यवहारमा भ्रष्टाचारको जरा झन् गहिरिँदै गएको छ ।

पृथ्वी जयन्ती मनाउनुको सार माल्यार्पण होइन, आत्मसमीक्षा हो । राष्ट्र निर्माता सम्झँदा प्रश्न गर्नुपर्छ के आजको नेतृत्व उहाँको राष्ट्रप्रतिको निष्ठासँग तुलना गर्न लायक छ ? के राज्य संयन्त्र जनताको पक्षमा उभिएको छ ? के हामीले राष्ट्रिय हितलाई दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि राख्न सकेका छौँ ?

यदि यी प्रश्नको उत्तर नकारात्मक छ भने पृथ्वी जयन्ती औपचारिकता मात्र हुनेछ । इतिहासलाई पूज्ने तर त्यसबाट सिक्न नचाहने प्रवृत्ति राष्ट्रका लागि घातक हुन्छ ।

पृथ्वी जयन्ती आजको राजनीतिक नेतृत्वका लागि चेतावनी हो राष्ट्र अस्थायी सत्ता होइन । कुर्सी जोगाउन गरिने सम्झौता र स्वार्थको राजनीति अन्ततः इतिहासको कठघरामा उभिन बाध्य हुन्छ । पृथ्वीनारायण शाह इतिहासमा अमर हुनुको कारण सत्ता होइन, राष्ट्र थियो ।

आज आवश्यकता छ, राष्ट्रलाई केन्द्रमा राख्ने राजनीति, आत्मनिर्भर अर्थतन्त्र, स्वाधीन परराष्ट्र नीति र जनताको भरोसा जित्ने शासन प्रणाली । नत्र पृथ्वी जयन्ती हरेक वर्ष आउनेछ, तर राष्ट्रनिर्माताको सपना हरेक वर्ष टाढिँदै जानेछ ।

सम्बन्धित समाचार

सबै