नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त हेलिकप्टरमा नेपाली चालक अरुण मल्ल र चार चिनियाँ नागरिक थिए।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त दुर्घटनाको छानबिन गर्न एउटा आयोग गठन गरेको छ। प्राधिकरणका अनुसार पाँचै जनाका शव घटनास्थगलमा फेला परेका थिए। मृतकमध्ये एक महिला छिन्। नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बीबीसीलाई बताएअनुसार दिउँसो १ः५४ मिनेटमा काठमाण्डूबाट उडेको तीन मिनेटमै उक्त हेलिकप्टर सम्पर्कविहीन भएको थियो।
पाँचवटै शव पोस्टमोर्टमका लागि काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइसकिएको प्राधिकरणले जनाएको छ।
दुर्घटनाको कारण खुलिसकेको छैन। तर नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हुन सक्छ।

तस्बिर स्रोत,Nepal Army
राष्ट्रिय समाचार समितिका अनुसार हेलिकप्टर चालक मल्लको पुर्ख्यौली थलो म्याग्दीका हो। उनको परिवारमा पत्नी र दुई छोरी छन्। मल्लको परिवार ललितपुरमा बस्दै आएको छ। उनका एक साथी कर्णबहादुर भण्डारीले मल्ल “म्याग्दीमा बिरामीलाई आकस्मिक रूपमा अस्पताल पुर्याउन, धौलागिरि, अन्नपूर्ण हिमालमा हुने दुर्घटना तथा विपद्को समयमा हेलिकप्टर आवश्यक पर्दा सम्झने व्यक्ति” भएको राससलाई बताए।
उनी अनुभवी पाइलट थिए। उनले विगत तीन दशक देखि हेलिकप्टर उडाउँदै आएको राससले जनाएको छ। यसअघि पनि उनी दुई पटक हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ।

तस्बिर स्रोत,Nepal Police
दुई साताअघि काठमाण्डूस्थित त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको एउटा विमान उडेको केही सेकेन्डभित्रै दुर्घटनामा पर्दा एक बालकसहित १८ जनाको मृत्यु भएको थियो। उक्त घटनामा विमानचालक मात्र जोगिएका थिए। मृतकमध्ये १७ जना सौर्य एअरलाइन्सका कर्मचारी थिए। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ७ मा पर्ने सूर्यचौर जङ्गलमा हेलिकप्टरजस्तो वस्तु जलेर धुवाँ आइरहेको जानकारी आएपछि सुरक्षाकर्मीहरू त्यता गएको बताएका थिए।

तस्बिर स्रोत,Ramhari Neupane
प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा हेलिकप्टर दुर्घटना भएकोमा दुःख व्यक्त गरेका छन्। उनको सचिवालयका अनुसार सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्वनिर्धारित भेटघाटमा रहेकै बेला ओलीले दुर्घटनाको खबर थाहा पाएका थिए। त्यसपछि भेटघाट छोट्याइएको थियो। प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाइ दुर्घटना हुनु दुःखद भएको उनको सचिवालयले जनाएको छ। उक्त दुर्घटनाका सम्बन्धमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसी एक छानबिन आयोग गठन गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले उक्त दुर्घटनाको जाँच गर्न एक आयोग गठन गरेको छ। नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा आयोगका संयोजक छन्। आयोगलाई ३० दिनको समय दिइएको छ। साथै उक्त बैठकले मृतक यात्रु चिनियाँ नागरिक भएकाले नेपाल सरकारले चीन सरकार र चिनियाँ जनताप्रति समवेदना प्रकट गरेको छ।

तस्बिर स्रोत,Air Dynasty
अहिलेसम्म नेपालमा ४१ वटा हेलिकप्टर दुर्घटनामा परेका छन् भने ९८ जनाको ती दुर्घटनामा परी मृत्यु भएको छ।
गत वर्ष पनि केही घातक हेलिकप्टर दुर्घटना भएका थिए।
सन् २०१९ मा ताप्लेजुङमा एअर डाइनेस्टीकै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तात्कालिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो।
केही वर्षअघि नेपालमा हेलिकप्टर उडानहरूको ‘खराब रेकर्ड’ भन्दै युरोपेली सङ्घ (ईयू) ले आफ्नो हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको थियो।
नेपालमा हेलिकप्टर उडानहरू हिमाली उद्धार र उच्च भेगमा पारवहनजस्ता जटिल काममा प्रयोग हुने गरेका छन्।
अहिले पर्यटकहरूमाझ ‘हेलिट्रेक’ पनि लोकप्रिय भएको पाइन्छ। पर्यटकहरू हेलिकप्टर चढेर हिमाली भेग जाने गरेका छन्।

तस्बिर स्रोत,RSS