काठमाडौँ, पुस ९ । कालीमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार थोक बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक विषादी भेटिएको छ । परीक्षणका क्रममा उक्त सागमा झन्डै शतप्रतिशतको हाराहारीमा विषादीको मात्रा देखिएको हो । तर परीक्षण प्रतिवेदन सार्वजनिक हुँदासम्म अधिकांश विषाक्त साग उपभोक्ताको भान्सासम्म पुगिसकेको थियो ।
कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले बिहान करिब ६ बजे बिक्रीपछि बाँकी रहेको रायोको नमुना लिएर परीक्षण गर्दा ९९.०८ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी रहेको निष्कर्ष निकालेको थियो । प्रयोगशालाले बिहान ६:३० बजेतिर नै उक्त साग उपभोग गर्न अयोग्य भन्दै नष्ट गर्न सिफारिस गरे पनि बजारमा पुग्दा करिब ८:३० बजिसकेको थियो । त्यसबेलासम्म धेरैजसो साग बिक्री भइसकेको थियो र करिब ४० केजी मात्र नष्ट गर्न सकिएको थियो ।
कालीमाटी बजारमा तरकारी आउने र बिक्री हुने समय निकै छिटो हुने गरेको छ । प्रायः बिहान ३ देखि ४ बजेसम्म तरकारी आइपुग्ने र ४:३० देखि ७ बजेसम्म थोक कारोबार सकिने भएकाले परीक्षण ढिला हुँदा विषाक्त तरकारी उपभोक्तासम्म पुग्ने समस्या दोहोरिँदै आएको छ । सरोकारवालाहरूका अनुसार यो घटना एक दिनको मात्र होइन, नियमित रूपमा देखिँदै आएको अवस्था हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार तरकारी बजारबाट बाहिरिइसकेपछि परीक्षण प्रतिवेदन आए पनि त्यसको प्रभावकारिता हुँदैन । “राति नै बजारमा तरकारी आउँछ, बिहान सबेरै बाहिरिन्छ । कर्मचारी ६–७ बजे आएर बाँकी नमुना परीक्षण गर्छन्, त्यसबेला उपभोक्ताले किनिसक्छन्,” उहाँले भन्नुभयो ।
केन्द्रीय कृषि प्रयोगशालाकी प्रमुख डा. शान्ता कार्कीले भने रातिदेखि नै परीक्षण सञ्चालन गर्न कर्मचारीको सुरक्षाको सुनिश्चितता नहुँदा समस्या भएको बताउनुभयो । सुरक्षाको ग्यारेन्टी भएमा बिहानअघि नै परीक्षण सम्भव हुने उहाँको भनाइ छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. प्रद्युम्नराज पाण्डेले प्रयोगशाला रातिदेखि सञ्चालन भए समितिले तत्कालै खराब तरकारी नियन्त्रणमा लिएर नष्ट गर्न तयार रहेको बताउनुभयो । तर महिला कर्मचारीको सुरक्षा चुनौतीका कारण व्यवहारिक कठिनाइ रहेको उहाँले उल्लेख गर्नुभयो । समितिले खान अयोग्य ठहर भएका तरकारी प्रतिवेदन आएलगत्तै नष्ट गर्ने गरेको र समस्या देखिएको स्थानबारे सम्बन्धित पालिकालाई पत्राचार गर्ने गरेको पनि उहाँको दाबी छ ।
यस घटनामा विषादी भेटिएको काठमाडौँ नागार्जुन नगरपालिका–रामकोटका कृषक तथा फार्मबारे अनुगमन र कारबाहीका लागि सम्बन्धित पालिकालाई जानकारी गराइएको समितिले जनाएको छ । नागार्जुन नगरपालिकाले पत्र प्राप्त भएपछि कानुनी प्रक्रिया अघि बढाउने बताएको छ ।
सरकारले तरकारीमा विषादी अवशेषको सीमा तोकेको छ । मापदण्डअनुसार ३५ प्रतिशतसम्मको विषादी उपभोगयोग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतसम्म भए केही समय राखेर प्रयोग गर्न मिल्ने र ४५ प्रतिशतभन्दा बढी भए पूर्ण रूपमा नष्ट गर्नुपर्ने व्यवस्था छ । तर परीक्षण ढिलाइका कारण यस्तो मापदण्ड व्यवहारमा प्रभावकारी हुन नसकेको गुनासो बढ्दै गएको छ ।