काठमाडौँ १४ मंसिर । नेकपा एमालेको आसन्न ११औँ महाधिवेशनका लागि तयार गरिएको आधिकारिक लोगो आज सार्वजनिक गरिएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन्।
पार्टीका सचिव तथा महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालका अनुसार सार्वजनिक गरिएको लोगो एमालेको इतिहास, आन्दोलन र संकल्पको कलात्मक प्रतिबिम्ब हो। लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतले दरबार र पार्टीको निर्वाचन चिन्हलाई बहुरूपमा संयोजन गरिएको छ, जसले एमालेको राजनीतिक यात्रासँगै सांस्कृतिक पहिचानलाई समेत अभिव्यक्त गर्छ।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित अन्य पदाधिकारीहरूको पनि उपस्थिति थियो। सोही अवसरमा महाधिवेशन केन्द्रित जिङ्गल पनि सार्वजनिक गरिएको छ, जसले पार्टीभित्र उत्साह र तयारीलाई अझ मजबुत बनाएको बताइएको छ।
आउँदो मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि आवश्यक प्रतिनिधि छनोट प्रक्रिया मङ्सिर १३ गते नै मातहतका सबै कमिटीबाट सम्पन्न भइसकेको पार्टीले जनाएको छ।













