कीर्तिपुर क्रिकेट रंगशालाको पहिलो चरणको काम सम्पन्न, क्यानलाई औपचारिक हस्तान्तरण

0 Shares

 काठमाडौं ३० कात्तिक। सरकारले लगानी गरेर कीर्तिपुरमा निर्माण गरिएको अत्याधुनिक क्रिकेट रंगशालाको पहिलो चरणको काम पूरा गरी नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरिएको छ। त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको यो आधुनिक रंगशालामा प्यारापिट र फ्लड लाइटसहित अब ‘डे नाइट’ क्रिकेट खेल सम्भव भएको क्यानले जनाएको छ।

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आइतबार सम्पन्न संरचना औपचारिक रूपमा क्यानलाई हस्तान्तरण गरेसँगै सोमबारदेखि सुरु हुने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) नयाँ रंगशालाबाट सञ्चालन हुने भएको छ। हस्तान्तरण कार्यक्रम सहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा सम्पन्न भयो।

गुरुयोजना स्वीकृत, दोस्रो चरणमा १० अर्बको लगानी

त्रिभुवन विश्वविद्यालय र क्यानबीच क्रिकेट मैदान प्रयोगसम्बन्धी जग्गा करार आगामी वैशाखमा सकिँदैछ। यसअघि मन्त्रालयले रंगशालाको गुरुयोजना स्वीकृत गरी नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिइसकेको छ। गुरुयोजना अनुसार दोस्रो चरणमा करिब १० अर्ब रुपैयाँको लगानीमा थप संरचनाहरू निर्माण गरिनेछ।

समयसीमा भन्दा ढिलो भए पनि काम अघि बढ्यो

३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान निर्माण गर्ने निर्णय गरेको थियो। ३०० दिनभित्र प्यारापिट, फ्लड लाइटलगायत संरचना निर्माण गर्ने लक्ष्य राखिएको थियो। तर काम सोही समयसीमा भित्र पूरा हुन सकेन।

२०७९ चैतमै फ्लड लाइट जडान प्रक्रियाको निर्देशन भए पनि काम अपेक्षित गतिमा अघि बढ्न सकेको थिएन। फागुन २०८१ मा नयाँ ठेक्का सम्झौता भएपछि मात्र कामले गति पायो। २४ वैशाख २०८२ भित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि म्याद थप्दै तीव्र गतिमा काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

प्यारापिट र फ्लड लाइटको लागत

प्यारापिट निर्माण : ४३ करोड ७७ लाख रुपैयाँ (क्षमता १० हजार सिट)
निर्माण कम्पनी : बीकेओआई–केसीडीसी बिजी जेभी
फ्लड लाइट जडान : ४२ करोड १९ लाख रुपैयाँ
निर्माणकर्ता : विशाण–ईश्वरी जेभी

काम ढिलाइ भएकाले निर्माण कम्पनीलाई कुल रकमको ०.५ प्रतिशतका दरले दैनिक हर्जाना असुल गरिएको मन्त्रालयले जनाएको छ। दैनिक करिब २ लाख रुपैयाँ बराबरको हर्जाना तिराउँदै काम अघि बढाइएको हो।

सरकारको प्राथमिकतामा क्रिकेट पूर्वाधार

असोज २३ मा मन्त्री घिसिङले स्थल निरीक्षण गर्दै क्रिकेट पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका थिए। हस्तान्तरण कार्यक्रममा उनले कीर्तिपुर मैदान “क्रिकेटको उज्यालो भविष्यको आधार” भएको उल्लेख गर्दै दोस्रो चरण छिटो अगाडि बढाइने आश्वासन दिए।

उनका अनुसार नेपाललाई अन्तर्राष्ट्रिय स्तरको खेल सञ्चालन गर्न सक्ने पूर्वाधार बनाउन अब सरकारले दीर्घकालीन योजना अघि सारेको छ।

डे–नाइट क्रिकेट सम्भव, क्यान उत्साहित

क्यान अध्यक्ष चतुरबहादुर चन्दले पहिलो चरणको काम सम्पन्न भएसँगै नेपालमा डे नाइट क्रिकेट खेलको सम्भावना खुलेको बताए। उनले ओली नेतृत्वको सरकारद्वारा समयसीमा तोकिएको निर्णयले कामलाई गति दिएको उल्लेख गरे।

राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव टंकलाल घिसिङले सहरी विकास मन्त्रालय र खेलकुद मन्त्रालयको सहकार्यले यो परियोजना छोटो समयमा सम्पन्न भएको बताए। उनले दोस्रो चरण पनि समयमै अघि बढ्ने विश्वास व्यक्त गरे।

आगामी तीन वर्षमा पूर्ण सुविधा सम्पन्न रंगशाला

मन्त्री घिसिङका अनुसार सरकार स्वीकृत गुरुयोजना अनुसार दोस्रो चरणको टेन्डर प्रक्रिया अघि बढाइरहेको छ। दुईदेखि तीन वर्षभित्र पूर्ण रूपले सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य सरकारको छ।

पहिलो चरण सम्पन्न भएसँगै अब कीर्तिपुर मैदान नेपाल क्रिकेटको दीर्घकालीन पूर्वाधारका रूपमा विकसित हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै