काठमाडौं, कात्तिक १६ । जेन–जी आन्दोलनका कारण क्षतिग्रस्त भएको यातायात व्यवस्था विभागअन्तर्गतको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवा आइतबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ । विभागले सूचना जारी गर्दै काठमाडौं उपत्यकाका चार कार्यालयमार्फत सीमित सेवा खुला गरिएको जनाएको छ ।
विभागका सूचना प्रविधि शाखा प्रमुख तथा निर्देशक केशव खतिवडाका अनुसार पहिलो चरणमा एकान्तकुना, राधेराधे, चाबहिल र सानो भ्याङस्थित कार्यालयबाट आंशिक सेवा सुरु गरिएको हो । उनका अनुसार आगामी चरणमा अन्य कार्यालयहरूमा पनि सेवा विस्तार गरिने तयारी भइरहेको छ ।
हालका लागि नयाँ लाइसेन्सको आवेदन, पुरानो लाइसेन्सको नवीकरण, सवारी दर्ता र नवीकरणका साथै राजस्व भुक्तानीका सेवा सुरु गरिएको विभागले जनाएको छ । तर, नयाँ प्रविधिमा आधारित सवारी दर्ता र इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवा सुरु गर्नेबारे भने निर्णय भइनसकेको विभागको भनाइ छ ।
विभागको सूचनामा भनिएको छ, “कात्तिक १६ देखि काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयहरूबाट विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता सेवा आंशिक रूपमा सञ्चालन भएको जानकारी गराइन्छ । अन्य कार्यालयहरूमा प्रणाली परीक्षणको कार्य भइरहेको हुँदा क्रमशः सबै ठाउँमा सेवा सञ्चालन हुनेछ ।”
गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी र तोडफोड हुँदा सर्भर र लाइसेन्स छाप्ने मास प्रिन्टर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । त्यसपछि विभागले २९ भदौदेखि लाइसेन्स छपाइ तथा वितरण सेवा अनिश्चितकालीन रूपमा बन्द गरेको थियो ।
विभागले अबदेखि चालक अनुमतिपत्र सरकारी स्वामित्वको सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गर्ने निर्णय गरेको छ । निर्देशक खतिवडाका अनुसार बिहीबार विभाग र मुद्रण केन्द्रबीच लाइसेन्स छपाइका लागि सम्झौता सम्पन्न भएको हो ।
यसअघि विभागले विदेशी कम्पनीबाट कार्ड मगाई आफ्नै मास प्रिन्टरमार्फत चालक विवरण राखी छाप्ने व्यवस्था गर्दै आएको थियो । नयाँ सम्झौतापछि भने सम्पूर्ण छपाइ कार्य मुद्रण केन्द्रले गर्नेछ ।
विभागले सरकार–टु–सरकार (G2G) मोडलमा सम्झौता गरेपछि छपाइ लागत पनि घट्ने भएको छ । अहिलेसम्म एउटा लाइसेन्स छाप्न २.२५ अमेरिकी डलर (आइतबारको विनिमय दरअनुसार करिब ३२० रुपैयाँ) खर्च भइरहेकोमा अब केन्द्रबाट छाप्दा २२० रुपैयाँ मात्र पर्नेछ । करबाहेक १९५ रुपैयाँ र १३ प्रतिशत भ्याट जोड्दा कुल लागत २२०.१४ रुपैयाँ हुने विभागले जनाएको छ ।
सुरक्षण मुद्रण केन्द्रले सवारी चालकको विवरण विभागबाट लिएर बनेपास्थित सूचना प्रविधि पार्कमा रहेको मास प्रिन्टरबाट लाइसेन्स छाप्नेछ । मुद्रणका लागि आवश्यक कच्चा पदार्थदेखि सुरक्षणका विशेषता (सेक्युरिटी फिचर्स) तयार पार्ने जिम्मेवारी पनि केन्द्रकै हुनेछ ।
०८१ मा लागू भएको सुरक्षण मुद्रण ऐन अनुसार सरकारी दस्तावेज, टिकट, पासपोर्ट र चालक अनुमतिपत्र जस्ता वस्तु सरकारी मुद्रण केन्द्रमै छाप्नुपर्ने कानुनी व्यवस्था रहेकोले विभाग कानुनी रूपमा पनि सोही मार्गमा गएको हो ।
विभागका अनुसार हाल करिब २५ लाख सवारी चालक नयाँ लाइसेन्सको पर्खाइमा छन् । सुरक्षण मुद्रण केन्द्रले ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने गरी सम्झौता गरेको छ । केन्द्रले आवश्यक तयारीपछि दैनिक २५ देखि ३० हजार लाइसेन्स छाप्न सक्ने क्षमता रहेको बताइएको छ ।
खतिवडाका अनुसार अहिले बजेट अभावका कारण पहिलो चरणमा १२ लाख लाइसेन्स छाप्ने योजना बनाइएको हो । “तीन महिनाभित्रै सबै १२ लाख छाप्न सकिने देखिन्छ । बाँकीको लागि आवश्यक बजेटको व्यवस्था गरेर थप छपाइ प्रक्रिया अघि बढाइनेछ ,” उनले बताए ।
त्यस्तै, आकस्मिक अवस्थाका लागि दैनिक पाँच सय लाइसेन्स छाप्ने सहमति पनि विभाग र केन्द्रबीच भएको छ । विभागले विश्वस्त जनाउँदै भनेको छ — अब पहिलाजस्तो लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने अवस्था समाप्त हुनेछ ।
सुरक्षण मुद्रण केन्द्रबाट छापिने नयाँ चालक अनुमतिपत्र पनि स्मार्ट कार्ड नै हुने भए पनि यसमा पुरानोजस्तो चिप्स प्रयोग नहुनेछ । यसको सट्टा पाँच तहको क्युआर कोड प्रणाली राखिएको छ, जसमा विभिन्न तहमा फरक–फरक विवरण रहनेछन् ।
पहिलो तहको क्युआर सामान्य मोबाइलबाट स्क्यान गर्न सकिनेछ , जसमा चालकको नाम, बुबा र बाजेको नाम तथा ठेगाना समावेश हुनेछ ।
दोस्रो तहको क्युआर ट्राफिक प्रहरीले प्रयोग गर्ने विशेष उपकरणबाट मात्र स्क्यान गर्न मिल्नेछ , जसमा चालकको रगत समूह, लाइसेन्स जारी मिति आदि विवरण रहनेछ ।
तेस्रो तहमा लाइसेन्स जारी गर्ने अधिकृतको नाम, हस्ताक्षर, म्याद र ट्राफिक कारबाहीको विवरण हुनेछ ।
चौथो तहको क्युआरमा यातायात कार्यालयका ‘एडमिन’हरूलाई मात्र पहुँच हुनेछ ।
पाँचौँ तह हालका लागि खाली राखिएको छ , भविष्यमा आवश्यक सेवा थप्न प्रयोग गरिनेछ ।
नयाँ कार्डमा १० वर्षसम्मको ग्यारेन्टी दिइने व्यवस्था गरिएको छ । यस अवधिमा कार्ड भाँचिने वा रंग फिका हुनेजस्ता समस्या आएमा केन्द्रले निःशुल्क नयाँ कार्ड छापेर दिनेछ ।
अहिले प्रयोग भइरहेका कार्डमा १८ वटा सुरक्षा फिचर्स थिए भने नयाँ लाइसेन्समा चार पुराना फिचर्स हटाई १४ नयाँ थपिएपछि कुल २८ वटा सुरक्षण विशेषता रहनेछ ।