काठमाडौँ, कात्तिक १२ गते । देशका हिमाली जिल्लामा परिरहेको अविरल वर्षा र बाक्लो हिमपातका कारण हजारौँ आन्तरिक तथा विदेशी पर्यटक प्रभावित भएका छन् । म्याग्दी, मनाङ, मुस्ताङ, सोलुखुम्बु र गोरखा जिल्लाका माथिल्ला क्षेत्रहरूमा पदमार्ग तथा सडक दुबै अवरुद्ध हुँदा पर्यटकहरू पदयात्रा बीचमै रोकिएका हुन् ।
मनाङ, मुस्ताङ र म्याग्दीका जिल्ला प्रशासन कार्यालयहरूले मौसम सुधार नहुँदासम्म पदयात्रामा नजान सार्वजनिक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार भारी हिमपातले स्थलमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि उपल्लो मनाङमा अड्किएका करिब ७५० जना आन्तरिक, विदेशी पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ ।
“हाल सबै पर्यटक सुरक्षित छन् । तर हिमपातका कारण सडक, पदमार्ग र सम्पर्क मार्गहरू प्रभावित छन्,” उहाँले बताउनुभयो ।
तिलिचोताल, थोराङ्ला भन्ज्याङ, फु गाउँ र अन्नपूर्ण संरक्षण क्षेत्रलगायतका लोकप्रिय पदमार्गहरूमा आवागमन ठप्प भएको छ ।
मुस्ताङमा समेत हिमपातले जनजीवन प्रभावित बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारका अनुसार विदेशी तथा आन्तरिक पर्यटकलाई कागबेनीदेखि माथिल्लो मुस्ताङ जान अस्थायी रूपमा रोक लगाइएको छ ।
उहाँले भन्नुभयो, “दैनिक पाँचदेखि सात हजार पर्यटक मुस्ताङ आउँछन् । बाटो खुला भए पनि हिमाली भेगको अवस्था कठिन छ । अहिलेका लागि खानपिन र बसोबासमा समस्या छैन ।”
मुस्ताङमा रहेका ३५० होटेलमा करिब १२ हजार पाहुनालाई सहजै बसोबास गर्न सकिने व्यवस्था रहेकाले तत्कालीन संकटको अवस्था नभएको प्रशासनले जनाएको छ ।
सोलुखुम्बु जिल्लामा सगरमाथा क्षेत्रका विभिन्न स्थानमा बाक्लो हिमपात भएपछि पर्यटकहरू होटेलमै रोकिएका छन् ।
प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ र तल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पदयात्रा रोकिएको हो ।
कात्तिक १ देखि १० गतेसम्म लुक्लाबाट ५,३९० जना पर्यटक जिल्ला प्रवेश गरेका थिए । हाल लुक्लाभन्दा माथि करिब दुई हजार पर्यटक रहेका छन् ।
लोबुचेमा २१० र गोरकक्षेपमा १२२ जना पर्यटक रहेका छन् र सबै सुरक्षित रहेको प्रशासनको भनाइ छ ।
उत्तरी गोरखाको लार्के पास र मनासलु क्षेत्रमा भारी हिमपातका कारण चुमनुब्री गाउँपालिकाका साम्दो र सामागाउँमा रहेका पर्यटकहरू अड्किएका छन् ।
त्यस्तै, म्याग्दी जिल्लामा पनि हिमपातपछि जिल्ला प्रहरी कार्यालयले अन्नपूर्ण आधार शिविर पदमार्गमा यात्रामा रोक लगाएको छ ।
अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा र पुनहिलतर्फ जाने पर्यटकहरूलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।
पर्यटन विभागका अनुसार हालसम्म कुनै पनि विदेशी वा स्वदेशी पर्यटक हराएको वा गम्भीर समस्यामा परेको रिपोर्ट आएको छैन । विभागले आवश्यक परेमा उद्धारका लागि सम्पर्क व्यक्ति तोकेर हेलिकोप्टर उद्धारका तयारी गरेको जनाएको छ ।
मौसममा सुधार नआएसम्म हिमाली क्षेत्रमा यात्रामा ननिस्कन र हाल रहेका पर्यटकले सुरक्षित ठाउँमै बस्न प्रशासनले आग्रह गरेको छ ।
अधिकारीहरूको भनाइमा, तिहारलगत्तै पर्ने यो मुख्य पदयात्रा सिजनमा परेको अप्रत्याशित हिमपातले पर्यटन क्षेत्रको गतिविधि अस्थायी रूपमा प्रभावित बनेको छ ।
नेपालका मुख्य हिमाली पदमार्गहरू अन्नपूर्ण सर्किट, मनासलु, सगरमाथा, मुस्ताङ र धवलागिरि सर्किट — अहिलेको खराब मौसमका कारण बन्द या सीमित अवस्थामा छन् ।
मौसममा सुधार आएलगत्तै पदयात्रा पुनः खुला गरिने जनाइएको छ ।