काठमाण्डाैं असाेज ३० गते । ‘धार्मिकताले राष्ट्रलाई उचाल्छ’ भन्ने शीर्षकमा असोज २७ गते एस.डी.ए. चर्च नेपालले ललितपुरको धोविघाटस्थित सिद्धार्थ आयोजनामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । धर्म, नैतिकता र राष्ट्र निर्माणका विषयमा आयोजित उक्त कार्यक्रममा धर्मनिरपेक्षता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र धर्मावलम्बीको भूमिकाबारे गम्भीर छलफल गरिएको थियो कार्यक्रममा बौद्धिक व्यक्तित्व, धर्मगुरु, मानव अधिकारकर्मी, सांसद, विश्लेषक तथा पत्रकारहरुको उल्लेखनीय सहभागिता थियो । कार्यक्रमको अध्यक्षता एस.डी.ए. चर्च बागमती प्रदेशका अध्यक्ष सामुएल शर्माले गर्नुभयो । चर्चका केन्द्रीय अध्यक्ष डा. सैलेस दिन–दिनयालले सन्देशमूलक सम्बोधन गर्दै देशव्यापी धार्मिक एवं नैतिक जागरण अभियानलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ मानव अधिकारकर्मी तथा विश्लेषक डा. के.बी. रोकायले देश गम्भीर संकटतर्फ अग्रसर भएको बताउँदै एस.डी.ए. चर्चको “पवित्र अभियान”ले मात्रै देशलाई दुर्घटनाबाट जोगाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले “पुरुष र महिलाबीचको वैवाहिक सम्बन्ध नै समाजको स्थायित्व र आधार हो” भन्दै सामाजिक मूल्य र नैतिकतामा आधारित राष्ट्र निर्माणको आवश्यकता औंल्याउनुभयो । रोकायले माधवप्रसाद घिमिरेको प्रसिद्ध गीत “नेपाली हामी रहौंला कहाँ, देशै नरहे” गाउँदा उपस्थित सहभागीहरू एकछिन भावुक बनेका थिए ।
डा. रोकायले देश अहिले इतिहासकै जटिल मोडमा रहेको उल्लेख गर्दै सबै नागरिकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र बचाउने जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी सामाजिक अभियन्ता डा. मित्र परियारले छुवाछूतमुक्त समाज निर्माणमा इसाई आस्था नै वास्तविक विकल्प भएको बताउनुभयो । महिला नेतृ मुनु स्मृतिले समाजमा अझै पनि छुवाछूतको व्यवहार कायम रहनु दुःखद भएको बताइन् । संविधानसभा सदस्य डा. विनोद पाहाडीले धर्मनिरपेक्षता नेपालको पहिचान भएको भन्दै यसको रक्षा गर्न सबै एकजुट हुनुपर्ने भनाइ राख्नुभयो ।
राष्ट्रिय सभाका सदस्य विष्णु बी.के. र भुवन सुनारले इसाई समुदायमाथि हुने कुनै पनि दमन सह्य नहुने चेतावनी दिनुभयो । कार्यक्रमका महासचिव कृष्ण केसीले स्वागत मन्तव्य दिंदै धर्मनिरपेक्षता र राष्ट्रिय एकता एकअर्काका पूरक भएको बताउनुभयो ।
संयुक्त नागरिक पार्टीका सहमहासचिव विदुर अधिकारीले समाजमा फैलँदै गएको लिङ्ग परिवर्तन र विकृति रोक्नुपर्नेमा जोड दिनुभयो । महिला नेतृ तथा सामाजिक अभियन्ता मीरा स्याङ्ताङले सबै नागरिकमा धार्मिक आचरण र नैतिकता आवश्यक रहेको धारणा राख्नुभयो ।
अन्तरक्रियाका क्रममा सहभागीहरूलाई छलफलका शीर्षकहरूका रूपमा “राष्ट्र निरपेक्ष हुनु पर्दछ”, “धर्मनिरपेक्ष दृष्टिकोणबाट नीति र विकासका उपायहरू”, “धार्मिकताको राष्ट्रियतालाई योगदान”, “नैतिकता र समाज सुधारमा धर्मको भूमिका” जस्ता विषयहरू वितरण गरिएका थिए ।
कार्यक्रममा नेपाल बौद्धिक मञ्चका अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य डा. के.बी. रोकाया, सांसद विष्णु बी.के., भुवन सुनार, संविधानसभा सदस्य विनोद पाहाडी, डा. मित्र परियारलगायत विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व, अभियन्ता, धर्मगुरु र पत्रकारहरूको उल्लेखनीय सहभागिता थियो ।
कार्यक्रममा एस.डी.ए. चर्च हेटौडाले प्रकाशन गरेको “तपाईंले विश्वास गर्न सक्ने केही कुरा बाँकी छ” नामक पुस्तक पनि वितरण गरिएको थियो । उक्त पुस्तकमा “ के परमेश्वरले सैतानलाई सृष्टि गर्नुभयो?”, “मृतकहरू साँच्चै मरेका छन्?”, “एक हजार वर्षको शान्ति”, “ख्रीष्ट विरोधी को हो?”, “बाइबलीय भविष्यवाणीमा संयुक्त राज्य अमेरिका” लगायत अध्यात्म, नैतिकता र आध्यात्मिक चेतनासँग सम्बन्धित विविध विषय समावेश छन् ।
उक्त पुस्तकको सम्पादन सेभेन्थ डे एडभेन्टिस्ट चर्च गठ्ठाघर, भक्तपुरले गरेको हो भने प्रकाशन सहयोगमा सुरेश श्रेष्ठ, अमर पाते र सन्दिपकुमार शाहको योगदान रहेको छ । पुस्तकको ल्याआउट तथा आवरण चित्र सुजितकुमार शाहले तयार पारेका छन् ।
कार्यक्रमको सञ्चालन मुरारी पाण्डेले गर्नुभएको थियो । आयोजकले कार्यक्रमको मूल उद्देश्य धर्म र धर्मनिरपेक्षताको सहअस्तित्व बुझ्नु, धर्मावलम्बीहरूको राष्ट्रिय योगदान मूल्यांकन गर्नु र सामाजिक नैतिकता प्रवद्र्धन गर्न विचार–विनिमय गर्ने रहेको बताएको छ ।
अन्ततः कार्यक्रममा सहभागी बौद्धिक र धार्मिक व्यक्तित्वहरूले निष्कर्षमा भने — “धार्मिकता भनेको आस्था मात्र होइन, राष्ट्र उचाल्ने नैतिक आधार पनि हो ।”