काठमाडौं, असोज २७ – इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको पुष्टि भएको छ। इजरायली सेनाका अधिकारीले आइतबार बिहान इजरायलको स्थानीय समय अनुसार ७:३० बजे नेपाली विद्यार्थी विपिन जोशीको मृत्युको औपचारिक जानकारी दिएका हुन्। यो जानकारी इजरायली रक्षा सेनाका (IDF) अधिकारीले एक भिडियो कन्फरेन्समार्फत दिएका हुन्, जसमा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायली प्रधानमन्त्री कार्यालयका दुई अधिकारी सहभागी थिए।
राजदूत पण्डितले कुराकानीमा भने, “IDF का अधिकारीले हामीलाई ‘विपिन इज नो मोर’ भने।”
युद्धविरामपछि पनि सूचीमा थिएनन् विपिन
अमेरिकाको पहलमा इजरायल र हमासबीच हालै युद्धविराम भएको छ, जसको क्रममा हमासको कब्जामा रहेका केही बन्धकहरू—जीवित तथा मृत—रिहा गर्ने कार्यक्रम तय गरिएको छ। तर आज सार्वजनिक गरिएका २० जनाको सूचीमा विपिनको नाम समावेश छैन।
७ अक्टोबरको हमास आक्रमणमा परेका थिए विपिन
कञ्चनपुरका विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए। २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा आक्रमण गर्दा उनी बन्धकमा परेका थिए। सो आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनलाई हमास लडाकुहरूले अपहरण गरी गाजा लगेका थिए।
सन् २०२३ नोभेम्बर १७ मा विपिनलाई गाजास्थित अल शिफा अस्पतालमा देखिएको भनिएको थियो। तर त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो। केही दिनअघि मात्रै उनको एउटा पुरानो भिडियो सार्वजनिक भएको थियो।
सरकारी प्रयास प्रभावहीन
विपिनको अवस्थाबारे थाहा पाउन नेपाल सरकारले कूटनीतिक पहल गर्दै आएको थियो। यसै प्रयासअन्तर्गत विपिनकी आमा र बहिनी इजरायलसमेत गएका थिए। हाल उनीहरू अमेरिकामा रहेका छन्। तर लामो समयको कूटनीतिक प्रयास पनि उनको जीवनरक्षा गर्न सफल भएन।
विपिनको निधनको खबरले देशभर शोक र पीडा छाएको छ। सरकारले यस घटनाप्रति आधिकारिक धारणा सार्वजनिक गरिनसकेको भए पनि आम नेपाली जनतामा दुःख र आक्रोश व्यक्त भइरहेको छ।