सोज ४ गते । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमार्फत ‘नेपो बेबी ट्रेन्ड’ र ‘अनफलो अभियान’बारे प्रतिक्रिया दिँदै आफूमाथि लागेको भ्रष्टाचार र विशेषाधिकार प्रयोग गरेको आरोप खण्डन गरेकी छन्।
उनले हार्वर्ड अध्ययनका लागि आवश्यक ९६ लाख रुपैयाँ आफैं ब्रान्ड डिलमार्फत कमाएको दाबी गर्दै सबै सम्झौताका कागजात गुगल ड्राइभमा सार्वजनिक गरेकी छन्। जनताले तिरेको करको पैसा प्रयोग नगरेको र आरोप षड्यन्त्रपूर्ण भएको बताएकी छिन् ।
श्रृंखलाले आफू मिस नेपालअघि साधारण जीवनमा रहेको र मिस नेपालपछि मात्र संसार घुम्ने अवसर पाएको बताइन्। आफ्नो घर भए पनि पुख्र्यौली सम्पत्ति बेचेर आमा-बुबाले शिक्षा दिएको खुलाउँदै, अध्ययन र जीवनशैलीबारे सबै विवरण इन्स्टाग्राममै खुलेको उनले बताएकी छिन् ।
उनले आफूलाई “कोलाट्रल ड्यामेज” भएको महसुस भए पनि आन्दोलनलाई समर्थन गर्ने भावना रहेको बताइन्। मिस वर्ल्डको “ब्युटी विथ पर्पस” रकम हिनामिना गरेको आरोपलाई असत्य ठहराउँदै डोनर विवरण समेत सार्वजनिक गरेकी छन्।
श्रृंखलाले आफूलाई लागेको आरोप बो’क्सीको आरोपसरह ठहर गर्दै आफूले दिएको प्रष्टिकरण आफ्नो सम्मानको लागि दिएको र भविष्यमा आफूलाई अरूले होइन, आफ्नै कथनले परिभाषित गर्न चाहेको उल्लेख गरेकी छिन् ।