२५ भदौ, काठमाडौं । जेन–जी आन्दोलनको मंगलबारको प्रदर्शन हिंसात्मक बन्दै गएपछि राजधानीमा ठूलो क्षति भएको छ । काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा कार्यरत दुई प्रहरीको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार मृतकमध्ये एक जना असई र अर्का एक प्रहरी जवान रहेका छन् । आक्रमणका क्रममा घाइते अन्य प्रहरीलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको उनले जानकारी दिए ।
डीआईजी घिमिरेका अनुसार अन्य स्थानमा पनि आक्रमणका घटना भएका कारण अझै सम्पूर्ण विवरण आउन बाँकी छ । उनले भने, “कतिपय प्रहरी सम्पर्कविहीन भएका छन्, केहीको अवस्थाबारे पुष्टि हुन बाँकी छ, अहिलेसम्म ठ्याक्कै कति को मृत्यु भएको भन्न सक्ने अवस्था छैन ।”
प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रण गर्न खोज्दा प्रदर्शनकारी आक्रामक बनेपछि स्थिति नियन्त्रण बाहिर गएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । राजधानीका विभिन्न क्षेत्रमा अहिले पनि तनावपूर्ण अवस्था कायम छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको र शान्ति सुरक्षाका लागि बल थप परिचालन गरिएको जनाएको छ ।













