निजी विद्यालयहरूको चेतावनी : १८ भदौदेखि देशभर पठनपाठन ठप्प गर्ने घोषणा

0 Shares

काठमाडौँ, भदौ १२ गते  ।विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै निजी विद्यालयहरूले १८ भदौदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

५ भदौयता निरन्तर आन्दोलनमा रहेका निजी विद्यालय सञ्चालकहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै विद्यालय नै बन्द गरेर आन्दोलन चर्काउने निर्णय गरेका हुन् । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ५ भदौमा प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने, पूर्ण छात्रवृत्ति अनिवार्य गर्ने, कम्पनी स्वरूप हटाउनेजस्ता प्रावधान राखिएको भन्दै उनीहरू आपत्तिवादी बनेका हुन् ।

आन्दोलनको नेतृत्व गर्ने संस्थाहरू—प्याब्सन, एन प्याब्सन, हिसानलगायतले ४ भदौमा पत्रकार सम्मेलनमार्फत पहिलो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । तर, सरकारले माग सुन्ने चेष्टा नगरेको भन्दै दोस्रो चरण अन्तर्गत विद्यालय बन्द गर्ने चेतावनी दिइएको हो ।

प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार निजी विद्यालयहरूको प्रमुख मागमा ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री (पोसाक, स्टेशनरी, खाजा) उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउन नहुने, र छात्रवृत्ति वितरणको अधिकार विद्यालयमै रहनुपर्ने समावेश छन् ।

उनका अनुसार १२ भदौदेखि १८ भदौसम्म विभिन्न विरोध कार्यक्रम सञ्चालन गरिने र त्यसपछि पनि माग सम्बोधन नभए १८ भदौदेखि पठनपाठन पूर्ण रूपमा ठप्प पारिनेछ ।

यसअघि सरकारले सार्वजनिक विद्यालयको सुधारमा ध्यान दिन र निजी विद्यालयलाई व्यवस्थित गर्न भन्दै विधेयक ल्याएको भए पनि निजी विद्यालय सञ्चालकहरू यसलाई शिक्षा क्षेत्रमा जबर्जस्ती हस्तक्षेपको रूपमा चित्रण गर्दै आएका छन् ।

सम्बन्धित समाचार

सबै