साउन २७ गते । कञ्चनपुरका विपिन जोशी हमासद्वारा अपहरणमा परेर गाजामा बन्धक बनाइएको झन्डै दुई वर्षपछि उनको आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल पुगेका छन्। इजरायल सरकारले निमन्त्रणासहित गरेको व्यवस्थापनअनुसार उनीहरू सोमबार साँझ तेलअभिभ पुगेका हुन्।
तेलअभिभस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार उनीहरूले १० दिनको बसाइमा विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नेछन्। यस क्रममा विपिन अपहरण भएको किबुज आलुमिमको भ्रमण पनि तय भएको छ। इजरायलका राष्ट्रपति आइज्याक हरजोग, सभामुख अमिर ओहाना, विदेशमन्त्री गिदोन साअर, डिफेन्स फोर्सका प्रमुख जनरल इयाल जमिर र गाजा डिभिजनका कमान्डरसहित भेट हुने कार्यक्रम छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटबारे भने अझै टुंगो लागेको छैन।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यो भ्रमणबारे नेपाल सरकारलाई जानकारी रहेको र आवश्यक समन्वय गरिएको बताए। कूटनीतिक स्रोतका अनुसार इजरायल सरकारले उनीहरूलाई पछि संयुक्त राष्ट्रसंघको महासभा भइरहेकै बेला अमेरिका लैजाने तयारीसमेत गरेको छ।
विपिनको परिवारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली राजदूत स्मुलिक एरी बासले बिदाइ गरेका थिए भने तेलअभिभमा नेपाली राजदूत र इजरायली अधिकारीहरूले स्वागत गरेका छन्। यसअघि विपिनको खोजीका लागि कञ्चनपुरका सांसद तारा लामा तामाङसहितको टोली पनि इजरायल पुगेको थियो।
२०८० असोज २३ मा हमासको आक्रमणका क्रममा १० नेपालीको मृत्यु भएको थियो भने विपिन जोशीलाई आलुमिम किबुजबाट अपहरण गरेर गाजापट्टी लगिएको अनुमान छ। इजरायली अधिकारीहरूले उनलाई अझै जीवितै हमासको कब्जामा रहेको बताउँदै खोजी गरिरहेका छन्। तर, अपहरणपछिको अवस्थाबारे ठोस प्रमाण भने प्राप्त भएको छैन।
विपिन सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर सकाएर ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी भई २०७९ भदौमा इजरायल पुगेका थिए। अपहरण भएको दिन गाजाको अस्पतालमा देखिएको उनको भिडियोबाहेक अरू विवरण सार्वजनिक भएको छैन।