पर्सा, २१ वीरगंज — वीरगन्जस्थित भन्सार नाका, एकीकृत सुरक्षा जाँच चौकी र सिर्सिया सुक्खा बन्दरगाह क्षेत्र एक सातादेखि ड्रोन क्यामेराको शंकास्पद गतिविधिबाट आतंकित बनेका छन् । गत साउन १२ रातिदेखि यसरी एकसाथ विभिन्न स्थानमा ड्रोन क्यामेरा उडेर निश्चित स्थान विशेषको निगरानी गर्न थालेपछि दुवै देशका सरोकारवाला पनि चिन्तित बनेका हुन् ।विशेष गरी एकीकृत सुरक्षा जाँच चौकीको समानान्तरमा रहेको भारतीय एकीकृत सुरक्षा जाँच चौकी, दशगजा क्षेत्र, नेपाली एकीकृत सुरक्षा जाँच चौकी, दुवै भन्सार नाका नजिक रहेका अलौं, खल्वाटोला, चण्डालचोक, वीरगन्ज–पोखरिया हुलाकी सडक खण्डमा रहेको तिलाबे खोला क्षेत्रमा रातको समयमा आधा दर्जनको हाराहारीमा एकैसाथ ड्रो न क्यामेरा उडिरहने भएकाले दुवै देशका सुरक्षा निकायको चिन्ता बढेको हो ।
यसरी ड्रोन आतंक बढेलगत्तै साउन १३ मा भारतीय एकीकृत सुरक्षा जाँच चौकीमा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक कन्सुलर तथा नेपाल र भारत दुवै तर्फका जिल्लाका सुरक्षा अधिकारीहरूको आकस्मिक बैठकसमेत बसेको ती अधिकारीले बताए । दुवै देशका अधिकारीले सीमामा ड्रोन परिचालन गरेर दुवै देशका सुरक्षा निकायको ध्यानाकृष्ट गर्दै अर्कोतर्फबाट तस्करी कार्य गर्न पनि हुन सक्ने अनुमानको विषयमा छलफल गरेका थिए । ड्रोन क्यामेराको सतर्कतापछि नेपाल तथा सशस्त्र प्रहरीका अधिकारीहरू पनि पटक–पटक एकीकृत सुरक्षा जाँच चौकीमा अनुसन्धानका लागि आइसकेका छन् । सशस्त्र प्रहरीका डीआईजी कालिदास धौवजी, सशस्त्रका पर्सा प्रमुख एसपी राधेश्याम धिमाल, नेपाल प्रहरीका पर्साका प्रमुख कुमोध ढुंगेल लगायत अधिकारी घटनाबारे अनुसन्धान गरेर फर्किसकेका छन् । केही दिनयता रातको समयमा सशस्त्र प्रहरीका डीएसपी विकास अधिकारी आईसीपीमै निगरानी गरेर बस्ने गरेका छन् ।
वीरगन्ज महानगरपालिका– २५ का वडाध्यक्ष सन्जु छतकुलीले आफूले सातायता रातको समयमा १/२ पटक आकाशमा ड्रोन क्यामेरा देखेको बताए । ‘मैले पहिलो पटक मेरो घरको छतमाथिबाट वडा कार्यालयको छत हुँदै दक्षिण–पश्चिम आकाशमा केही ड्रोन क्यामेरा तीव्र गतिमा उडेको देखेको छु, लगत्तै सशस्त्र प्रहरीका डीएसपी विकास अधिकारीलाई यसबारे सूचना पनि दिएको थिएँ,’ उनले भने, ‘तीव्र गतिमा, सम्भवतः हवाईजहाज जस्तै गतिमा ती ड्रोन उड्ने गरेका छन्, सामान्यभन्दा अत्यन्त ठूलो आकारका ड्रोन क्यामेरा अत्यन्त उचाइमा पुगेर समेत उड्ने गरेको मैले देखेको छु ।’
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उत्तम घिमिरेले आफूले पनि यसबारे सुनेको तर आधिकारिक रूपमा कुनै जानकारी नआएको बताए । सशस्त्र प्रहरी बल पर्साका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा यस सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा केही पनि नतिजा आउन नसकेकाले प्राविधिक टोली बोलाएरै अनुसन्धान गर्नुपर्ने स्थिति देखिएकाले केन्द्रसँग यस सम्बन्धमा समन्वय भइरहेको बताए । पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले ड्रोन क्यामेराबारे सूचना आएको र त्यसको छानबिन गर्न टोली पनि परिचालन भइसकेको बताए । तर हालसम्म केही पनि नतिजा आई नसकेको उनले बताए ।