काठमाणडाैं बैशाख २८ गते । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते समाप्त भइसकेको छ। तर, नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि नबढ्दा राष्ट्र बैंकको नेतृत्व कायम मुकायम गभर्नर डा. निलम ढुंगानाले सम्हालेकी छन्। गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ, जसमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य थिए ।

गभर्नर पदका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा छन्। कांग्रेस पक्षबाट ज्ञानेन्द्र ढुंगाना, डा. गुणाकर भट्ट, राजेन्द्रकिशोर क्षेत्री, र रविन्द्र पाण्डे लगायतका नामहरू प्रस्तावित छन्। तर, प्रधानमन्त्री ओलीले यीमध्ये केही नामहरूमा असहमति जनाएका छन्। ओली पक्षबाट भने डेपुटी गभर्नर डा. निलम ढुंगानालाई गभर्नर बनाउने प्रस्ताव गरिएको थियाे, जसमा कांग्रेसले असहमति जनाएको थियाे ।
हालको राजनीतिक सहमतिका आधारमा अर्थशास्त्री डा. विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने सम्भावना बलियो देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिको विषयमा गोप्य वार्ता भएको छ ।
डा. पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् , जसले उनलाई गभर्नर पदको लागि योग्य बनाउँछ। उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको रूपमा सेवा गरिसकेका छन् र बैंकिङ्ग क्षेत्रमा अनुभवसम्पन्न छन् ।
यद्यपि, नियुक्ति प्रक्रिया अझै औपचारिक रूपमा सम्पन्न भएको छैन। यदि कुनै कानुनी अड्चन वा नयाँ विवाद नउत्पन्न भएमा, डा. पौडेलको गभर्नर नियुक्ति निकट भविष्यमा घोषणा हुने अपेक्षा गरिएको छ।
