बैशाख, ८ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरातर्फ जाँदै गरेको मे१च ३०११ नम्बरको जीपमा करेन्ट प्रवाह हुँदा चार यात्रुको मृत्यु भएको छ । सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलमा लत्रिएको तारबाट जीपमा करेन्ट प्रवाह हुँदा थप दुई जना घाइते समेत भएका ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताउनुभयो । अहिले जिल्ला अस्पताल ताप्लेजुङमा घाइतेहरूको उपचार भइरहेको छ । घाइते दुई जना आमा छोरा हुन् । आमाको अवस्था गम्भीर रहेको छ भने १० वर्षीय छोराको उपचार भइरहेको जिल्ला अस्पतालले जानकारी दिएको छ । घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भैरहेकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनुभयो ।
मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका- १५ का ७० वर्षीय विनोद पौडेल, ६९ वर्षीया सरिता पौडेल, ललितपुर नगरपालिका- १६ कि आद्या आचार्य र जीप चालक फुङलिङ- १० का दुर्गा भट्टराई रहेका छन् ।
चालक बाहेक तीन जना एकै परिवारका सदस्य हुन् ।