गोरखामा बुढीगण्डकीको भीषण बाढी, सल्लेरी बजार र जलविद्युत् आयोजनाको क्याम्प बगायो

0 Shares

गोरखा, असोज २५ गते  । गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण बाढीले सल्लेरी बजार, जगत क्षेत्र तथा जलविद्युत् आयोजनाको क्याम्पमा ठूलो क्षति पुर्‍याएको छ। लेदोसहित आएको बाढीले नदी किनारका विभिन्न भौतिक संरचना बगाएको छ भने आसपासका बस्तीसमेत जोखिममा परेका छन्।

जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार नदीमा पानीको बहाव बढेसँगै आएको बाढीले सल्लेरी बजार क्षेत्र र जलविद्युत् आयोजनासँग सम्बन्धित संरचनामा क्षति पुर्‍याएको हो। नदी थुनिने र पुनः खुल्ने क्रम देखिएकाले तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार बुढीगण्डकीको स्यारखोला क्षेत्रबाट आएको बाढीले जगत र सल्लेरी क्षेत्रका संरचनासँगै जलविद्युत् आयोजनाको क्याम्प तथा नदी आसपासका घरहरू बगाएको छ।

स्थानीयका अनुसार आइतबार बिहान करिब साढे ४ बजे ठूलो आवाजसहित बाढी आएपछि लोक्पालगायत नदी आसपासका बस्तीका बासिन्दा ज्यान जोगाउन भागदौड गरेका थिए।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बाढीबाट भएको क्षतिको विवरण संकलन गरी प्रभावितको उद्धार तथा राहतको व्यवस्था मिलाइने जानकारी दिनुभयो। उहाँका अनुसार घटनास्थलको निरीक्षण गरी क्षतिको अवस्था बुझ्ने तयारी गरिएको छ।

यसैबीच, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट भएको वास्तविक क्षति, प्रभावित क्षेत्रको अवस्था तथा मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ। घटनाको अवस्था र उद्धार तथा राहतसम्बन्धी आवश्यक निर्णयका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकसमेत भइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै