एमालेमा ज्ञवालीले बनाए तेस्रो प्रतिवेदन , (पूर्णपाठसहित)

0 Shares

काठमाडौं । नेकपा (एमाले) ले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा सम्बन्धी नयाँ प्रतिवेदन तयार गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा उपमहासचिव प्रदीप ज्ञवालीले उक्त प्रतिवेदन तयार गरेका हुन्।

यसअघि महासचिव शंकर पोखरेल र नेता रामबहादुर थापा ‘बादल’ ले तयार गरेका छुट्टाछुट्टै प्रतिवेदन पार्टीभित्र विवादमा परेपछि ज्ञवालीलाई नयाँ प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो।

प्रतिवेदनमा निर्वाचनमा पार्टीले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसक्नुका कारणबारे आन्तरिक तथा बाह्य पक्षको समीक्षा गरिएको छ। पार्टीभित्रको संगठनात्मक कमजोरी, टिकट वितरणमा देखिएका समस्या, नेता–कार्यकर्ताबीचको समन्वयको अभाव तथा अन्तर्घातलाई पराजयका कारणका रूपमा उल्लेख गरिएको छ।

यस्तै, सामाजिक सञ्जालमार्फत फैलिएको नकारात्मक प्रचार, डिजिटल एल्गोरिदमको प्रभाव तथा युवा पुस्तामा सिर्जना भएको भ्रमले पनि निर्वाचन परिणाममा असर परेको प्रतिवेदनको निष्कर्ष छ। एमाले विभाजनबाट पार्टीको संगठनात्मक र राजनीतिक अवस्थामा परेको प्रभावलाई पनि प्रतिवेदनले पराजयसँग जोडेको छ।

प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएका संविधान निर्माण, भारतीय नाकाबन्दीको सामना तथा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताजस्ता विषय उल्लेख गरिएको छ। साथै, निर्वाचनको परिणामलाई “एउटा निर्वाचनको हारले समग्र राजनीतिक अभियान समाप्त नहुने” सन्देशका साथ कार्यकर्ताको मनोबल कायम राख्नुपर्ने आवश्यकता औँल्याइएको छ।

आगामी रणनीतिअन्तर्गत प्रतिवेदनले ३९ बुँदे कार्ययोजना प्रस्ताव गरेको छ। यसमा पार्टीभित्र आलोचना–आत्मालोचनाको संस्कृतिलाई संस्थागत गर्ने, युवाको सहभागिता बढाउने, डिजिटल माध्यममा पार्टीको उपस्थितिलाई प्रभावकारी बनाउने, संगठनलाई थप सुदृढ गर्ने तथा अनुशासनको प्रभावकारी कार्यान्वयन गर्ने प्रस्ताव समावेश छन्।

प्रतिवेदनमा निर्वाचित जनप्रतिनिधिले पार्टीको नीति र निर्देशनअनुसार काम गर्नुपर्ने तथा अनुशासन उल्लङ्घन भए आवश्यक कारबाही गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

उक्त प्रतिवेदनमाथि छलफलका लागि आइतबार कार्यदलको बैठक बोलाइएको छ। यसअघि तयार भएका दुई प्रतिवेदन विवादमा परेकाले नयाँ प्रतिवेदनमाथिको छलफललाई पार्टीभित्र चासोका साथ हेरिएको छ।

यसबीच प्रतिवेदनको विषयवस्तु र प्रस्तुतिको शैलीलाई लिएर पार्टीभित्र फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्। केही नेताले प्रतिवेदनले नेतृत्वको भूमिकालाई बढी प्राथमिकता दिएको बताएका छन् भने यसबारे पार्टी नेतृत्वबाट औपचारिक प्रतिक्रिया आएको छैन।

 

 

सम्बन्धित समाचार

सबै