काठमाडौं, असोज २ गते । निर्वाचन आयोगले आगामी फागुनको अन्तिम साताभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक तयारीलाई तीव्र बनाएको जनाएको छ।
निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाका अनुसार प्रचलित कानुनी व्यवस्थाअनुसार हालका स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गरिसक्नुपर्ने भएकाले आयोगले सोहीअनुसार आफ्नो तयारी अघि बढाइरहेको छ।
उनले मतदाता नामावली अद्यावधिक गर्ने कार्य नियमित रूपमा जारी रहेको जानकारी दिँदै वर्षमा दुई पटक नामावली अद्यावधिक गरिने बताए। यदि निर्वाचन फागुनमा हुने निश्चित भए माघ महिनामा पुनः अद्यावधिक प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरिने उनको भनाइ छ।
आयुक्त सुब्बाले निर्वाचनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी भइरहेको उल्लेख गर्दै निर्वाचन मिति घोषणा गर्ने विषय भने सरकारको निर्णयमा निर्भर रहने बताए।
कानुनी व्यवस्था
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ अनुसार गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सम्बन्धित स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ।
नेपालमा पछिल्लो स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको थियो। संविधानले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष निर्धारण गरेकाले विद्यमान कानुनी व्यवस्थाअनुसार आगामी फागुनको अन्तिम साताभित्र नयाँ निर्वाचन सम्पन्न हुनुपर्ने अवस्था रहेको छ।