१३ देशका लागि राजदूत सिफारिस, नियुक्ति प्रक्रिया पहिलो चरणमा अघि बढ्यो

0 Shares

काठमाडौं, असोज २ ।  सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा रिक्त रहेका १३ नेपाली नियोगका लागि राजदूतको नाम अनुमोदन गरेको हो।

सरकार गठन भएको करिब छ महिनापछि राजदूत नियुक्तिको प्रक्रिया अघि बढेको हो। यसअघि राजनीतिक कोटाबाट हुने नियुक्तिका लागि पहिलोपटक खुला आवेदन माग गरिएको थियो। प्राप्त करिब ४४ सय आवेदनमध्ये प्रारम्भिक छनोटपछि करिब २७ सय आवेदनलाई मूल्यांकनका लागि राखिएको थियो। अन्तिम नाम छनोटमा समय लागेकाले सिफारिस प्रक्रिया केही ढिलो भएको बताइएको छ।

सरकारका अनुसार बाँकी रिक्त मुलुकका राजदूत नियुक्तिको सिफारिस भने प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ महासभा भ्रमण सम्पन्न भएपछि गरिनेछ।

यसपटक राजनीतिक कोटाबाट सिफारिस गरिएका अधिकांश व्यक्तिहरू सक्रिय दलगत राजनीतिभन्दा कूटनीति, शैक्षिक तथा व्यावसायिक क्षेत्रसँग सम्बन्धित रहेका छन्। सिफारिस सूचीमा समावेशिता सुनिश्चित गर्ने प्रयास पनि गरिएको देखिएको छ।

भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जंग थापा तथा बेलायतका लागि पूर्वप्रधान सेनापति गौरव शम्शेर जबरा सिफारिस भएका छन्।

त्यसैगरी प्राप्ति शेरचन (स्पेन), सरु जोशी (जर्मनी), पद्माक्षी राणा (ओमान) र मञ्चला झा (श्रीलंका) राजदूतका रूपमा सिफारिस भएका चार महिला हुन्। सुरेशकुमार कर्णलाई इजरायल, संगम श्रेष्ठलाई दक्षिण कोरिया तथा गिरीबहादुर सुनारलाई साउदी अरेबियाका लागि सिफारिस गरिएको छ।

अब सरकारले सिफारिस गरिएका नाम संसदीय सुनुवाइ समितिमा पठाउनेछ। सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकसँग ‘अग्रिमो’ (स्वीकृति) मागिनेछ। स्वीकृति प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने व्यवस्था छ।

यसैबीच अस्ट्रेलिया, जापान, मलेसिया, कतार, रुस, इजिप्ट, बहराइन, बंगलादेश, म्यानमारलगायतका मुलुकमा करियर कूटनीतिज्ञबाट राजदूत नियुक्त गर्ने प्रक्रिया बाँकी रहेको सरकारले जनाएको छ।

सरकारले यसअघि ब्राजिल, दक्षिण अफ्रिका र डेनमार्कस्थित नेपाली दूतावास तथा चीनको छेन्दुस्थित महावाणिज्यदूतावास बन्द गर्ने निर्णय गरेको भए पनि पछिल्लो निर्णयअनुसार ब्राजिलस्थित दूतावास र छेन्दुस्थित महावाणिज्यदूतावासलाई निरन्तरता दिने तयारी गरिएको छ।

सम्बन्धित समाचार

सबै